गायक राईको ‘बाल्यकाल’ सार्वजनिक

गायक राईको ‘बाल्यकाल’ सार्वजनिक

चितवन , ५ असोज
गायक अनिल राईको नयाँ गीत ‘बाल्यकाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भरतपुर १२, मुनालचोक स्थायी घर भएका गायक राईको यो तेस्रो म्युजिक भिडियो हो । केही वर्ष वैदेशिक रोजगारका क्रममा खाडी मुलुक बसेर फर्किएका राई पछिल्लो समय गायनमार्फत आफूलाई चिनाउने प्रयासमा जुटेका छन् ।

गीत–संगीतका लागि मूलबाटो पहिल्याउने प्रयासमा रहेका उनी माफसलबाटै सस्ंघर्ष गरिरहेका छन् । चितवनमै बसेर ‘तिम्रो मान्छे म’ र ‘झूटो होइन’ बोलको म्युजिक भिडियो दर्शकस्रोतामाझ ल्याइसकेका छन् । गायन तथा संगीतको क्षेत्रमा औपचारिक शिक्षा नलिइए पनि काम गर्दै गर्दाको अनुभवले आफूलाई निखार्दै लगेको उनको अनुभव छ । असोज १ गते सार्वजनिक गरिएको ‘बाल्यकाल’ आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक राईको शब्द र विशाल पौडेलले संगीत रहेको छ ।

भिडियोमा भने आभाष रानामगरले निर्देशन तथा छायांकन गरेका छन् । नायक देव आरएन र गीता सापकोटाले अभिनय गरेको भिडियोको सम्पादन भने सुबोध श्रेष्ठले गरेका हुन् । गीतमा बाल्यकालमा भएका घटनालाई श्रव्यदृश्यमार्फत देखाउने प्रयास गरिएको छ । चितवन जिल्ला आसपासका क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोबाट दर्शक स्रोतमाझ थप लोकप्रिय बन्न सक्नेमा आफू आशावादी रहेको गायक राईले बताए ।