अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार

चितवन , ६ कार्तिक ।
चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा तयार गरिएको हो ।

तयार पारिएको डीपीआर आज भरतपुर महानगरपालिकामा प्रस्तुत समेत गरिएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । करिब ३ अर्ब लागतमा नेपाली मौलिकता झल्कने गरि निर्माण गर्न लागिएको रंगशाला ३० हजार जना अट्ने क्षमताको हुने जनाइएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गर्न डीपीआर तयार भएको फाउण्डेशनले जनाएको छ । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई बर्षभित्र रंगशाला सम्पन्न गर्ने योजना रहेको फाउन्डेसनका अध्यक्ष सितारा कट्टेलले बताए ।