हरित विद्यालय कार्यक्रम सम्बन्धि अभिमुखिकरण

हरित विद्यालय कार्यक्रम सम्बन्धि अभिमुखिकरण

चितवन , ७ कार्तिक । 
नेपाल सरकारले जारी गरेको हरित विद्यालय कार्यक्रम कार्यान्वय निर्देशिका २०७५ सम्बन्धि अभिमुखिकरण कार्यक्रम विहिबार रत्ननगरमा गरिएको छ । शैक्षिक संस्थाहरु र वरपरको क्षेत्रमा व्यापक हरियाली विकासमार्फत पृथ्वीको बहन क्षमता अभिवृद्धि गर्न , वातावरण प्रदुषणबाट जैविक विविधतामा परेको असर न्यूनिकरण गर्न , शिक्षाका माध्यमबाट विद्यार्थी तथा आम जनसमुदायमा वातावरण मैत्री व्यवहार विकास गर्न, एक विद्यालय एक बगैयाँ तथा बृहत हरित क्षेत्र निर्माणको कार्यलाई प्रभावकारी रुपले अगाडी बढाउन जारी गरिएको निर्देशिकाको बिषयमा सरोकारवाला पक्षहरुलाई अभिमूखिकरण कार्यशाला गरिएको हो ।

तराई भूपरिधि कार्यक्रम तथा विद्यालय वातावरण संरक्षण शिक्षा संजाल नेपालको आयोजना र नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा भएको कार्यक्रममा बारा , पर्सा , मकवानपुर , चितवन र नवलपारासी जिल्लाबाट शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख , विद्यालयका प्रधानाध्यापक , हरित शिक्षक लगायत गरि ७० जनाको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रम पश्चात् चितवन प्रतिबद्धतापत्र समेत घोषँणा गरिएको छ । विद्यालय वातावरण संरक्षण शिक्षा संजाल (सेन्स) नेपालको कार्यक्षेत्र रहेको १३ वटा जिल्लाको ५ सय ४२ वटा विद्यालयमा निर्देशिका कार्यान्वयनको काम सुरु गरिएको सेन्स नेपालको चितवन अध्यक्ष ऋषि प्रसाद खनालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी शिक्षा विकास तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दहालले विद्यालय क्षेत्रमा फलफुलको विरुवा रोप्नुपर्ने जसले गर्दा हरियाली पनि हुने र आर्थिक लाभ पनि हुने बताए । सेन्स नेपालको अध्यक्ष दिनेश प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तराई भू परिधि कार्यक्रमका आयोजना प्रबन्धक मनोज कुमार शाह । नेपाल शिक्षक महासंघका चितवनका अध्यक्ष कोमलनाथ घिमिरे , रत्ननगर नगरपालिकाका प्रमख नारायण वन , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका महानिर्देशक बावुराम पौडेल लगायतले मन्तव्य राखेका थिए ।