मेडिकल कलेजहरुविरुद्ध विद्यार्थी र अभिभावकको प्रदर्शन

मेडिकल कलेजहरुविरुद्ध विद्यार्थी र अभिभावकको प्रदर्शन

चितवन , ८ मंसिर ।
चितवनको भरतपुरमा मेडिकल कलेजहरु विरुद्ध विद्यार्थी , अभिभावक , नागरिक समाजले प्रदर्शन गरेका छन् । चिकित्साशास्त्रमा अध्ययनरत विद्यार्थीहरुबाट अवैध रुपमा बढी शुल्क लिएको विरोधमा आन्दोलित हुदै आएका विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् ।

भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध र्याली नारायणगढ बजार परिक्रमा गरेर पुन चौविसकोठीमा पुगेर कोठसभामा परिणत भएको थियो ।सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विगत तिन महिनायता विद्यार्थीहरु मेडिकल कलेजहरुविरुद्ध आन्दोलित हुदैँ आएका छन् । मेडिकल कलेजहरुले बढि शुल्क लिएको स्विकार गर्दा समेत सरकारले कारबाही नगरेको र पुर्वसहमति अनुसार बढी शुल्क फिर्ता तथा समायोजन नगरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् ।

सभामा बोल्दै विद्यार्थीहरुले अबको आन्दोलन निर्णायक बनाउने भन्दै मेडिकल कलेजहरुलाई सरकारले कारबाही नगरे जनताले कारबाही गर्ने चेतावनी दिए । विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता तथा समायोजन गर्न सरकारले दिएको समयसिमा भोली सोमबार सकिदै छ । समयसिमा सकिन लाग्दा समेत मेडिकल कलेजहरुले त्यसतर्फ कुनै चाँसो नदिएको विद्यार्थीहरुले गुनासो गरे ।