इट्टा भट्टामा रहेका वालवालिकालागि खैरहनीमा स्वयमसेवक शिक्षक 

इट्टा भट्टामा रहेका वालवालिकालागि खैरहनीमा स्वयमसेवक शिक्षक 

चितवन , ८ मंसिर ।
इट्टा भट्टामा काम गर्ने मजदुरहरुका छोराछोरीको अध्ययनका लागि खैरहनी नगरपालिकाले युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको छ । नगरपालिकाको वडा नम्वर २,३ र ४ मा रहेका इट्टा भट्टामा कार्यरत मजदुरका छोराछोरीको शिक्षाका लागि ३ जना युवा स्वयम सेवक शिक्षक नियुक्त गरेको हो ।

तीन वडामा त्यस्ता मजदुरका १ सय ७ जना वालवालिका रहेका छन् । उनीहरु खैरहनी २ को राष्ट्रिय आधारभूत विद्यालय पहिटानी र खैरहनी ३ को चण्डी राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत छन् । उनीहरुको अध्यापनका लागि पटिहानीमा २ जना र चण्डी आधारभूत विद्यालयमा १ जना युवा स्वयम सेवक शिक्षक नियुक्त गरिएको खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले जानकारी दिए । इट्टा भट्टामा काम गर्ने मजदुरका छोराछोरी मध्ये पटिहानीमा ७७ जना र चण्डी आधारभूत विद्यालयमा ३० जना अध्ययन गर्दै आएका छन् । उनीहरुको शिक्षाका लागि खैरहनी नगरपालिकाले कक्षा कोठा,फर्निचर,शिक्षकको व्यवस्थापन गरेको छ भने इट्टा भट्टा उद्योगहरुले खाजाको व्यवस्था गर्ने, युथ क्लव नारायणगढले पोशाक,स्टेशनरीको व्यवस्थापन गर्ने सहमती भएको स्थानीय शिक्षा अधिकारी पौड्यालले वताए ।

आईतवार खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले युवा स्वयम सेवक शिक्षकलाई नियुक्ती पत्र हस्तान्तरण गरे । सो अवसरमा मेयर चौधरीले इट्टा भट्टामा काम गर्ने मजदुरका छोराछोरीहरु व्यवस्थापनको काम चुनौतीको रुपमा रहेको भन्दै उनीहरुको शिक्षा पाउने अधिकारलाई नगरपालिकाले स्थापित गर्न प्रयास गरेको वताए । इट्टा भट्टामा रहेका वालवालिकाहरु व्यवस्थापन चुनौतीपूर्ण छ मेयर चौधरीले भने – जटिल मुद्या भएकाले साझा रुपमा लिनु पर्छ । उनीहरु कुन ठाउँबाट आएको,आएको ठाउँबाट कति महिना अध्ययन गरेको सवै विवरण लिएर यहाँको शिक्षालाई अगाडी वढाउनु पर्ने मेयर चौधरीले वताए ।