झुवानीमा किशोरीलाई शशक्तीकरण गर्न परियोजना लागू

कार्तिक ८ गते । चितवनको रत्ननगर नगरपालिका ५ स्थित झुवानी सामुदायिक पुस्तकालयमा किशोरीहरुलाई प्रविधि मार्फत शशक्तीकरण नामक परियोजना सुरु भएको छ । रिड नेपालको सहकार्यमा पुस्तकालयमा १८ महिने परियोजना सुरु भएको हो । रिड नेपालका परियोजना अधिकृत साजन थापाका अनुसार परियोजना मार्फत किशोरीहरुलाई सुचना प्रविधिमा पोख्त वनाउने,सामाजिक समस्या पहिचान गर्न लगाउने,जीवन उपयोगी शिप सिकेर भविष्यको छनौट गर्न सक्ने वनाईनेछ । पहिलो चरणमा ५० जना किशोरीहरुलाई छनौट गरि परियोजनामा सामेल गराईदैछ । ति किशोरीहरु झुवानी माध्यमिक विद्यालय,गवै माध्यमिक विद्यालय,वछौली माध्यमिक विद्यालय र मालपुर माध्यमिक विद्यालयबाट छनौट गरिएको हो । ५० जना मध्ये दोश्रो चरणमा २४ जनालाई छनौट गरिने परियोजना अधिकृत थापाले वताए । ति विद्यार्थीहरु कक्षा ९ देखी १२ सम्म हुन् । रिड नेपालले पहिलो चरणमा देशका १० वटा सामुदायिक पुस्तकालयहरुमा यो परियोजना लागू गरेको छ । १८ महिने सो परियोजनाको शुक्रवार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सुभारम्भ गरे । सो अवसरमा मेयर वनले रत्ननगरमा विकास निर्माणदेखी अन्य योजनाहरुमा वालवालिकाको सहभागीता अनिवार्य गरेको वताए । समाजमा व्याप्त विकृती विसंगति अन्त्यका लागि किशोर किशोर तथा युवाहरु जागरुक हुनु पर्नेमा समेत मेयर वनले जोड दिए । झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगरका स्थानीय शिक्षा अधिकारी बद्री नारायण शर्मा,पुस्तकालयका सचिव नारायण चौधरीले लगायतले मन्तव्य राखेका थिए ।