मापदण्ड नवन्दा खाद्य वस्तुमा मिसावट
पुष ९ गते । खाद्य स्वच्छताको लागि सरकारले खाद्य उत्पादन मापदण्ड बनाएर लागु गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले खैरहनीमा आयोजना गरेको खाद्य उद्यमीहरुलाई असल उत्पादन अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रममा सरकारले खाद्य उत्पादन मापदण्ड नबनाएका कारण खाद्य बस्तुमा मिसावट हुने गरेको उनीहरुले बताए । कार्यक्रममा खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले खाद्य गुणस्तर कायम गर्न सरकार चनाखो हुनुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले धेरै पैसा कमाउने लोभमा उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गर्न नहुँने तर्क गरे । खाद्य उत्पादकहरुले व्यवसायिक सफलतासंगै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने शर्माले बताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर खाद्य निरीक्षक प्रदिप काफ्लेले असल उत्पादनका अभ्यासहरुका बारेमा आधारभूत जानकारी गराएका थिए । कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख विकी राउतको अध्यक्षतामा भएको थियो ।