मुलुकको विकासमा युवाहरु अग्रसर हुनुपर्छ ः प्रचण्ड
पुष ९ गते । पूर्व प्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राष्ट्रियता रक्षाका लागि सवै एकजुट हुनु पर्ने वताएका छन् । चितवनको रत्ननगरमा बुधवारदेखी सुरु भएको नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता,अखण्डता जोगाउन एक हुनु पर्ने वताएका हुन् । उनले युवाहरुलाई मुलुकको रक्षा र विकासमा ध्यान केन्द्रित गर्न समेत आग्रह गरे । विदेशी शक्ति केन्द्रले कुनै न कुनै तरिकाले खेल्न खोज्छन् प्रचण्डले भने – त्यसमा सवै नेपालीहरु सचेत र सजग हुनु पर्छ । पूर्व प्रधानमन्त्री प्रचण्डले नेपाल दुई शक्तिशाली राष्ट्रको बीचमा रहेकाले पनि सवैको ध्यान केन्द्रित रहेको वताए । राजनितिक स्थायी प्राप्त गर्न सवै दलहरु एकै ठाउँमा उभिएझै मुलुकको तीव्र विकासमा पनि सवै मिल्नुको विकल्प नरहेको उनको भनाई थियो । देशको स्वतन्त्रताको रक्षा,भौगोलिकको रक्षा र जनताको आकांक्षालाई ध्यान दिन जरुरी रहेको प्रचण्डले वताए । लामो संर्घष पछि सवै दलहरु मिलेर राजनितिक स्थायित्व कायम गरेका छौ उनले भने – त्यसलाई जोगाउन पनि प्रतिपक्ष र सत्ता पक्ष नभनि सहकार्य गर्नुपर्छ । प्रचण्डले आफु पनि युवाहरुको संगठनको अध्यक्ष भएरै यो स्थानमा आएको भन्दै देशको नेतृत्वका लागि युवाहरु तयार हुनु पर्ने धारणा राखे । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष डाक्टर भेष वहादुर थापा, रत्ननगर नगरपालिकाका मेयर नारायण वन,नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठ,रत्ननगर जेसिजका अध्यक्ष सुवास पोखरेल,महाधिवेशनका निर्देशक पुष्पराज जोशी,महासचिव निरज श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । उद्घाटनका अवसरमा विभिन्न विधाबाट १० जना युवाहरुलाई सम्मान गरिएको थियो । विज्ञान प्रविधिबाट विकल्प ढुंगाना,देशको प्रतिष्ठा अन्र्तराष्ट्रियस्तरमा पुर्याए वापत सृजन तिमल्सीना,खेलकुदबाट अरुणा शाही,कला संगितबाट विल्सन विक्रम राई,स्वास्थ्य क्षेत्रबाट डाक्टर विशाल श्रेष्ठ,साहित्यबाट पत्रकार समेत रहेका मिनकुमार श्रेष्ठ,शैक्षिक क्षेत्रबाट वेन्जु सिटौला,मानव अधिकार र सामाजिक क्षेत्रबाट विपनाशर्मालाई नगदसहित सम्मान गरिएको थियो । पुष १२ गते सम्म चल्ने महाधिवेशनले अध्यक्ष,४ जना कार्यकारीणी उपाध्यक्ष,१२ जना राष्ट्रिय उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षका लागि ३ जना,कार्यकारीणी उपाध्यक्षका लागि १२ जना र राष्ट्रिय उपाध्यक्षका लागि २१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा चितवनबाट बीस हजारी जेसिजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल,पथरी जेसिजबाट अशोक शंकर र काभ्रे जेसिजबाट विकास मानन्धरले उम्मेदवारी दिएका छन् ।