रंगशाला निर्माणका लागि राप्ती र कालिकामा सहयोग समिति गठन

रंगशाला निर्माणका लागि राप्ती र कालिकामा सहयोग समिति गठन

चितवन , ९ साउन

गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको राप्ती र कालिका नगरपालिकामा नगरस्तरीय सहयोग समिति विहीवार गठन गरिएको छ । दुई नगरपालिकामा छुट्टा छुट्टै आयोजित सरोकारवालाहरुको भेलाले नगरस्तरीय सहयोग समिति गठन गरेको हो ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा वरालको संयोजकत्वमा १२१ सदस्यीय समिति गठन भएको छ ।जसको उपसंयोजकमा उपमेयर इमानसिंह लामा,सदस्य सचिवमा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेंल रहेका छन् । कालिका नगरपालिकामा प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा ८५ सदस्यीय नगरस्तरीय सहयोग समिति गठन गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए । समितिको उपसंयोजकमा उपप्रमुख कमला भट्टराई र चितवन उद्योग संघ कालिका इकाई अध्यक्ष प्रकाशचन्द्र भट्टराई सदस्य सचिव रहने गरि समिति वनाईएको हो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटी,नेकपा जिल्ला अध्यक्ष यमवहादुर परियार,नेपाली काग्रेश जिल्ला सभापति जीतनारायण श्रेष्ठ,रंगशाला निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतको उपस्थितीमा दुई नगरपालिकामा सहयोग समिति गठन गरिएको थियो । राप्ती नगरपालिकाको बीरेन्द्रनगरमा भएको भेलामा नेकपाका नेताहरु घनश्याम कडेंल,मानवहादुर स्याङ्वो, राप्तीका वडाध्यक्षहरु सुमिता डल्लाकोटी,मेनका पाठक,अम्मर तामाङ,अर्जुन चेपाङ लगायतले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जिल्लाको रत्ननगर नगरपालिका,खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिसकेको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा समिति वन्न वाँकी रहेको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका रंगशाला निर्माण सहयोग जिल्ला स्तरीय समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले जानकारी दिए ।