मुख्यमन्त्री पौडेलले गरे खैरहनीको मुसहर वस्तीको निरीक्षण

मुख्यमन्त्री पौडेलले गरे खैरहनीको मुसहर वस्तीको निरीक्षण

कार्तिक ९ गते । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चितवनको खैरहनी नगरपालिकाको योजनाहरुको निरीक्षण गरेका छन् । शनिवार मुख्यमन्त्री पौडेलले संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले गरेका विकास निर्माणको निरीक्षण गर्नुका साथै यहाँको वस्तु स्थितीका बारे जानकारी लिएका हुन् । खैरहनी नगरपालिका वडा नम्वर १० मा निर्माण भईरहेको एकिकृत मुसहर वस्ती,नगरपालिका परिसरमा निर्माणाधिन सभाहल, नगरपालिकाको कार्यालय भवनको मुख्यमन्त्री पौडेलले स्थलगत निरीक्षण गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया,खैरहनीका मेयर लालमणी चौधरी,उपमेयर सुनिता थपलियासहित पुगेका मुख्यमन्त्री पौडेलले मुसहरको पुरानो वस्ती र निर्माणाधिन नयाँ आवासहरुको निरीक्षण गरेका थिए । सो अवसरमा खैरहनीका मेयर चौधरीले वजेट अभावका कारण वस्ती निर्माण कार्य रोकिएको र चालु आर्थिक वर्षमा पनि योजना परेको भन्दै ति योजनाबाट पनि पूर्णता नपाउने भएकाले सहयोगका लागि मुख्यमन्त्री पौडेललाई आग्रह गरे । मुख्यमन्त्री मन्त्री पौडेलले पनि आवश्यकतासहितको कागजपत्र प्रदेश सरकारमा ल्याउन आग्रह गरे । आफ्नो वस्तीमै मुख्यमन्त्री पुगेपछि त्यहाँका मुसहरहरुले फुलमालाले स्वागत गरेका थिए ।

निरीक्षण अघि नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा खैरहनीका मेयर चौधरीले प्रदेश सरकारबाट खैरहनीमा परेका योजनाहरुमा स्थानीय सरकारको रुपमा रहेको खैरहनी नगरपालिकाले थप वजेट विनियोजन गरेर काम गरिरहेको मुख्यमन्त्रीलाई जानकारी गराए । कार्यक्रममा मुख्यमन्त्री पौडेलले नगरपालिकाको कार्यालय भवन र यहाँको व्यवस्थापन देखेर आफु सन्तुष्ट रहेको वताए । स्थानीय सरकारले विकास निर्माणसंगै जनताको सेवा प्रवाहलाई चुस्त पार्नु पर्नेमा उनले जोड दिए । जतिनै विकासका काम गरेपनि सेवा प्रवाह चुस्त हुनुपर्छ मुख्यमन्त्री पौडेलले भने – तीन तहका सरकार मिलेर समृद्ध मुलुक निर्माणमा लाग्नु पर्छ । नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले शिक्षाको सुधारमा नगरपालिकाले गरेका क्रियाकलापको जानकारी गराएका थिए ।