प्रधानमन्त्री ओलीलाई चितवनबाट आफ्नै कार्यकर्ताको खुल्ला पत्र

प्रधानमन्त्री ओलीलाई चितवनबाट आफ्नै कार्यकर्ताको खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री केपी ओली
अभिवादन !
तपाईको बोलीमा रहेको दम, तपाईले र प्रचण्डले जनताकाअघि गरेको प्रतिबद्धताका कारण गत निर्वाचनमा वाम गठबन्धनले यो आकारको जीत सम्मानका साथ प्राप्त गरेको हो । तपाईको नेतृत्वमा सरकार बन्यो, एमाले र माओवादी पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बन्यो । आम कार्यकर्ता र जनतामा एक किसिमको उल्लास देखियो । अब केही रचनात्मक काम हुन्छ भन्ने कुरामा विपक्षीहरूले समेत विमति जनाइहाल्न सकेनन् । यसको कारण अब नेकपाको सरकारले केही अवश्य गर्छ भन्ने विश्वास नै हो ।
कुरा धेरै भए । तिनै कुराहरूमा अल्झेर होला कामले गतिलिन सकेन । सरकारको आलोचना कसैले गर्नासाथ काङ्ग्रेसले पो के गरेको थियो र भन्ने ठोसे जवाफ लेख्ने र बोल्नेहरू नै सरकारका आफन्ती बने । यो सरकारलाई न त पञ्चायतको वेलाको न त कांग्रेकको सरकारसँग दाज्न मिल्छ । त्यो व्यवस्था र त्यतिवेलाका शासकहरू भएनन् भनेर हामीले गणतन्त्र ल्यायौं र अन्त्यमा कम्युनिष्टहरू निष्ठावान हुन्छन् भनेर जनताले दुईतिहाई नजिकको बहुमत दिएको हो ।
यो सरकारले संविधान कार्यान्वयनको महत्वपूर्ण काम गर्याे । सङ्घीयता कार्यान्वयन गर्ने, आवश्यक ऐनकानुन बनाउने जस्ता अत्यन्त महत्वपूर्ण काम गर्याे । तर जनता आफ्नो रोटीको स्वाद, सुरक्षित वासको व्यवस्था र लाज र जाडोबाट बच्नका लागि आफूले कपास पाइयो वा पाइएन भनेर हेर्नेरहेछ ।
विरामीको उपचार, गुणस्तरीय र सर्वसुलभ शिक्षा भयो वा भएन भनेर पनि शोच्दा रहेछन् ।
केही बाटाहरू बनेका छन् । केही बन्दैछन् । पुलपुलेसाहरू बन्दैछन् । लोडसेडिङको समस्या धेरैहदसम्म समाधान भएको छ । भारतबाट पेट्रेलियम पदार्थ अमलेखगञ्जसम्म पाइपबाटै आउन थाल्यो । यी राम्रा कामहरू हुन् । यसका लागि धन्यवाद !
हराएको सुन भेटिएन । सुनचोरहरूलाई क्लिनचिट दिने होडमा न्यायालयहरूको तँछाडमछाड छ । निर्मला काण्डमा नराम्ररी फस्यो सरकार । भँगेरा खालका घुसलिने कर्मचारीहरू पक्राउ परे भनिन्छ तर गिद्ध खालका भ्रष्टाचारीहरू सिंहदरवार वरिपरि घुमिरहेका छन् भन्ने सुनिन्छ । संसदीय समितिले कार्वाहीका लागि सिफारिस गरिएका अभियुक्तहरू समितिलाई धम्क्याउने हैसियतमा छन् । के प्रधानमन्त्रीले वा सरकारले चाहेमा भ्रष्टहरूलाई ठेगान लगाउन सक्दैन ? सकिन्छ । तर किन तिनीहरू छाडा छन् त ? के सरकारको साझेदारी छ त्यहाँ ? छैन भने यति शक्तिशाली सरकार अनि भ्रष्टाचारका विरूद्ध शुन्य सहनशीलता भन्ने प्रधानमन्त्री किन सक्रिय बन्नुहुन्न ?
अझ मेडिकल शिक्षाको क्षेत्र हेर्दा त यति लज्जावोध हुन्छ कि, एउटा ठग सोझै बोल्छ हामी शिक्षामन्त्री हटाइदिन्छौं ।
एउटा सामान्य गाएकले गाएको गीतका शब्दका विषयमा प्रतिक्रिया दिनसक्ने प्रधानमन्त्री स्वयम् आफ्नै नेतृत्वको सरकारले नियमानुसार तोकिदिएको फिभन्दा १२र१५ लाख बढी लिने र त्यो पनि बिनारसिद पैसा लिने देश र जनतामारा मेडिकल कलेजका सञ्चालकहरूलाई किन केही गर्न सक्नुहुन्न ? जो ठगीमा मुछिएको छ, जो भ्रष्टाचारमा डुबेको छ, जो ठेक्कापट्टा काण्डमा डुबेको छ यस्तैयस्तालाई लिएर जनताले देख्नेगरी हिँड्दा यसले दिने सन्देश के हुन्छ ?

अहिले म चिकित्सा शिक्षाको क्षेत्रमा चलेको ब्रम्हलूटका बारेमा कुरा उठाउँदै छु । यो शिक्षा मन्त्री, गृह मन्त्री अनि झारपात सांसदहरूले के बोल्छन् हामीलाई मतलव छैन हामीलाई केपी र प्रचण्डले पनि केही गर्दैनन् । यी छुसीहरूले निहुँ खोजे भने केपी र प्रचण्ड लगाएर यिनीहरूको जागिर खाइदिन्छौ हामी भन्दै हिँडेका छन् मेडिकल कलेजका सञ्चालकहरू । विद्यार्थी सङ्गठनहरू कति ससाना अन्यायका बिरूद्धमा पनि न्यायको पक्षमा आन्दोलन गर्थे तर अहिले भ्रष्टहरू उनीहरूसँग डराउँदैनन् किन ?
सम्माननीय प्रधानमन्त्रीज्यू तपाई नेकपाको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ अनि तपाईको जिल्ला पार्टीलाई जनतामाराहरूको विरूद्दमा जनतासँग हिँड भन्न किन तयार हुनुहुन्न ?
अहिले मेडिकल कलेजका सञ्चालकहरू आफूमाथि नियमकानुन लाग्ने हो भनें अब हामी नयाँ भर्ना लिन्नौं भनेर घुर्की लगाइरहेका छन् । अधिकांस मेडिकलकलेजका फेकल्टी हेडहरू र अरू प्राध्यापक चिकित्सकहरू राज्यले लिएर चलाउने हो भने हामी सहयोग गर्छाैं भन्नुहुन्छ । यसको कारण लगानीकर्ताहरू एकदुईजनालाई विशेष सुविधा दिने बाँकीलाई सरकारी तलवको आधा पनि नदिई काम लगाउने निकृष्ट गतिविधि हो ।
अब जुनजुन मेडिकल कलेज नयाँ भर्ना लिन्न भनेर भन्छन् तिनीहरूले यसअघि विद्यार्थीबाट सरकारले तोकिदिएभन्दा बढी लिएको पैसा कटाएर उनीहरूको सम्पत्तिको उचित मूल्याङ्कन गरी राज्यले लिने र चलाउने गर्नुपर्छ । कतिपय मेडिकल कलेजले त स्थानीय नेताहरूलाई प्रभावमा लिएर सरकारी स्कुल र अस्पतालको जग्गा भाडाको नाममा सित्तैमा जसरी लिएर कमाउधन्दा चलाएका छन् । यिनलाई राज्यले लिन कुनै समस्या छैन । ठगेको पैसा फिर्ता गराउने र ठगहरूलाई जेल पठाउने काम शुरू गर्न नसक्ने हो भने सर्वसाधारणले पनि भन्नसक्छ यसखालका अपराधमा पार्टीका ठुला नेताहरू, मन्त्री र प्रधानमन्त्री पनि सामेल हुनुपर्छ । मलाई यसमा विश्वास छैन तर माफियाहरू खुलम्खुल्ला हिँड्ने, ठगिएका विद्यार्थीहरू पुलिसबाट पिटिने, छात्राबासमै सञ्चालकका गुण्डाहरूबाट पिटिने, सरकार हाम्रो सुरक्षा गर भनेर नारा लगाउँदै हिड्नुपर्ने तर कतैबाट पनि ती पिडित विद्यार्थीहरूको पक्षमा साथ र सहयोग मिल्दैन भने एकपटक सबै न्यायप्रेमीहरू अन्यायका विरूद्धमा आगो बनेर निस्कनुपर्छ ।

 

यो पनि हेरौ 

सम्माननीय प्रधामन्त्री केपी ओली मेडिकल माफियाहरूले चलाएको यो ठगीका विषयमा किन तपाईको सचिवालय बोल्दैन ? अझ सरकारका प्रवक्ता जोसँग बोलेरै मान्छेलाई ठाउँको ठाउँ तह लगाइदिनसक्ने क्षमता छ उहाँ किन बोल्नसक्नुहुन् ?
एउटा गाएकले ले ले गाँजा ले गाउँदा च्याप्प पार्ने पुलिस आज कहाँ छ ? ४२ लाख पचासहजार भन्छ सरकार तर हामीसँग ६० लाख लिइयो भन्दै फाइल बोकेर हिड्ने विद्यार्थीहरूको बचाउका लागि ठगहरू समात्न किन हिच्किचाहट ? के छोराछारी सित्तैमा पढ्छन् ? होइन भने यसरी लुट धन्दामा लागेकाहरूलाई तत्काल समात ।

रसिद नकाटी उठाइएको करोडौं रूपियाको कर राज्यलाई तिर्दैनन् यिनीहरू ।
आफ्ना सेयर होल्डरलाई भने सरकारले तोकिदिएकोभन्दा पनि कम लिइएको भनेर पनि ठग्दा रहेछन् । मैले मेडिकल कलेजमा लगानी गरेका लगानी कर्ताहरूसँग बढी पैसा लिएको प्रमाण देखाइदिँदा जिब्रो टोके ।

त्यसैले कार्तिक अठार गतेभित्र विद्यार्थीसँग लिएको बढी पैसा फिर्ता गर्ने सहमति भएको छ चितवन मेडिकल कलेजका सञ्चालकसँग चितवनका सिडियोको उपस्थितिमा । छिटोभन्दा छिटो विद्यार्थीलाई न्याय दिइयोस् र राज्यको नीतिनियम नमानी मनोमानी गर्ने मेडिकल कलेजहरूमाथि कार्वाही गरियोस् ।

तपाईको नेतृत्वमा सरकारले राम्रो गरेको हेर्न इच्छुक तपाईको पार्टीको सदस्य प्रेम रिमाल ।

लेखक रिमालले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अवैध रुपमा अतिरिक्त शुल्क उठाएको बिषयमा आवाज उठाउदै आएका छन् । 

२०७६ कार्तिक १० गते प्रकाशित

भिडियो