नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्री चितवनमा सम्मानित

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्री चितवनमा सम्मानित

चितवन , १० कार्तिक ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्री (एलबी) लाई नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले शनिबार सम्मान गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरे ।

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र आईसीसीको निलम्बनबाट मुक्त गर्न गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष नाइसाले जानकारी दिए । क्षेत्री नेपाल क्रिकेट संघको संक्रमणकाल अन्त्य गर्न आईसीसीद्वारा गठित स्वतन्त्र छानबिन समितिका सदस्य थिए । क्रिकेट संघको चुनाव गरी निलम्बन फुकुवा गर्न उनले विशेष भूमिका निर्वाह गरेका थिए ।

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गर्दा क्षेत्री टिमका महत्वपूर्ण सदस्य थिए । सन् १९९८ मा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए । यी सन्दर्भहरु समेटेर उनले कप्तान १९९८ नामक किताब पनि लेखेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले आफू सधैं नेपाली क्रिकेटको प्रगतिको पक्षमा रहेको भन्दै स्वतन्त्र र निश्पक्ष काम गर्दा पाएको सम्मानले गर्व महसुस भएको बताए । उनले नेपाल क्रिकेट संघको नयाँ समितिप्रति आशा व्यक्त गरे ।