बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक सहयोग
पुष १२ गते । वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम संचालन गर्दै आईरहेको रत्ननगर उद्योग बाणिज्य संघले बालबालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको छ । रत्ननगर नगरपालिका १४ मा अप्ठ्यारो र विद्यालय अनियमित रहेका १२ जना बालबालिकाहरुलाई शनिवार शैक्षिक सामाग्री, विद्यालय पोशाक, जुत्ता तथा स्वीटर सहयोग गरिएको हो । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघले नगरलाई बालमैत्री र बालश्रम मुक्त बनाउने उद्देश्यका साथ बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गर्दै आईरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हरिकुमार श्रेष्ठले माघ महिना भित्र वडालाई बालमैत्री घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गरे । संघका पूर्व अध्यक्ष एवं बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम समितिका संयोजक दिपक कुमार कर्माचार्यले कार्यक्रमले धेरै चुनौतीहरु पार गर्दै वडा घोषणाको चरणसम्म आईपुगेको वताए ।