नन्दिनी सहकारीको साधारण सभामा कृषकलाई काउम्याटले पुरस्कृत

नन्दिनी सहकारीको साधारण सभामा कृषकलाई काउम्याटले पुरस्कृत

पुष १२ गते । पूर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले अत्याधिक दुध विक्री गर्ने कृषकहरुलाई पुरस्कृत गरेको छ । संस्थामा अध्याधिक दुध विक्री गर्ने ५ जना कृषकलाई एक एक थान काउम्याट र ५ जना किसानलाई दुध विक्रीका आधारमा चोकर प्रदान गर्दै पुरस्कृत गरेको हो । संस्थाको आज शनिवार सम्पन्न २३ औं वार्षिक साधारण सभामा अध्याधिक दुध विक्री गर्नेसहित गुणस्तरीय दुध विक्री गर्ने ३० जना कृषकहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । साथै दुध उत्पादक सहकारीका अभियन्ता गोपाल प्रसाद डल्लाकोटी र रामवहादुर लामिछानेलाई सम्मान तथा गत वर्षको एसईईमा उत्कृष्ठ अंक ल्याएका शेयर सदस्यका ४ जना छात्रछात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश ३ सरकारका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा,केन्द्रिय दुग्ध सहकारी संघका सदस्य वालकृष्ण उप्रेती,संस्थाका अध्यक्ष कमलराज थपलियाले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए । अत्याधिक दुध विक्री गर्ने १० जना,भैसी तर्फ गुणस्तरीय दुध विक्री गर्ने १० जना,गाई तर्फ गुणस्तरीय दुध विक्री गर्ने १० जना,मिश्रित दुध विक्री गर्ने १० जना,संस्थाबाट दुध खरिद गर्ने ९ वटा फर्मलाई पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक लिलावहादुर थपलियाले जानकारी दिए ।


साधारण सभालाई सम्वोधन गर्दै सहकारी मन्त्री लामाले कृषि र पशुपालनलाई आधुनिकीकरण,व्यवसायिकरण र यान्त्रिकरण गर्न सके उत्पादन वढ्नुका साथै यही रोजगारी सृजना हुने वताए । केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सदस्य वालकृष्ण उप्रेतीले लागत मुल्य नघटाए सम्म किसानले उचित मुल्य पाउन नसक्ने भन्दै यसमा सरकारले लागत घटाउने गतिविधी संचालन गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा खैरहनी नगरपालिका १० का वडाध्यक्ष कारीराम चौधरी,खैरहनीका पशु सेवा शाखा प्रमुख रुद्रकुमार श्रेष्ठ,भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलिया, शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषाल, जनमुखी वहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण वहादुर थापा,परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह ओली,नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष शुशिल कडेंल लगायतले मन्तव्य राखेका थिए । साधारण सभामा संस्थाका अध्यक्ष कमलराज थपलियाले प्रगति प्रतिवेदन तथा भावी निति,लेखा संयोजक श्यामनारायण फुयाँलले लेखा प्रतिवेदन र व्यवस्थापक लिलावहादुर थपलियाले आगामी वर्षको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । ति प्रतिवेदनहरु साधारण सभाले सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।