सौराहा लोथर रुटमा रात्रिकालिन जिप सफारीको पहल सुरु

चितवन , १३ मंसिर।
सौराहाको पर्यटनलाई पूर्वी चितवनको लोथर सम्म जोड्न पहल सुरु भएको छ । सौराहामा मात्रै सिमिति हुँदा पर्यटन व्यवसाय दिगो हुन नसक्ने औल्याउँदै यहाँका व्यवसायीहरु लोथर सम्म पर्यटन गतिविधी वढाउन तदारुकता देखाउन थालेका हुन् । पर्यटन विस्तारका लागि सौराहाका व्यवसायीहरुले रात्रीकालिन जीप सफारी संचालन गर्न थालेका छन् ।

त्यसका लागि विहीवार खैरहनी र राप्तीका जनप्रतिनिधीहरु,सामुदायिक वनका प्रतिनिधीहरु,पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुबीच छलफल भएको छ । रात्रीकालिन जीप सफारी संचालन गर्ने तयारीको आलोचना हुँदै आएको छ । निकुञ्ज र वन क्षेत्रमा सफारी नहुने भएपनि विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा यसको विपरित सन्देश प्रवाह भईरहेको छ । छलफलमा क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले वाहिर हल्ला आए जस्तो निकुञ्ज र वन भित्र सफारी नहुने वताए । जीप सफारी निकुञ्ज र वन क्षेत्र भित्र प्रवेश हुदैन् संघका अध्यक्ष भट्टराईले भने – सौराहादेखी लोथर सम्म ड्याक मार्फत सफारी हुने हो,रात्रीकालिन जीप सफारीलाई अनर्थ लगाएर प्रचार भएको छ ।
पर्यटन व्यवसायीहरुले ल्याएको नयाँ योजनाको स्वागत गर्ने भन्दै राप्ती नगरपालिका मेयर प्रभा वरालले स्थानीय तहले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिवद्धता जनाईन् । राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले स्थानीयलाई फाईदा हुने गरि योजना वनाउनु पर्ने सुझाव दिए । क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहा आउने पर्यटक दुई रात मात्रै वस्ने भएकाले वसाई लम्वाउन नयाँ योजना अघि सारेको वताउँछन् ।

कठार भण्डार सामुदायिक वन समन्वय समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतामा भएको छलफलमा खैरहनी ११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती,क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष राममणी खनाल, कोषाध्यक्ष माधव दुवाडी,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत वहादुर तामाङ,लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानवहादुर स्याङ्वो,पर्यटन व्यवसायी तथा संरक्षणकर्मी टिका गिरी लगायतले आआफ्नो धारणा राखेका थिए ।