हात्ती महोत्सवमा बीच भलिवल सुरु,आर्मीको विजयी सुरुवात
पुष १३ गते । चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आईतवारदेखी राष्ट्रिय महिला बीच भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जित्दै नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । राप्ती नदि किनारमा भएको खेलमा नेपाल आर्मीले शशस्त्र प्रहरी वलको टोलीलाई सोझो सेटमा पराजीत गर्यो । खेलमा आर्मी २१–२० र २१–१३ को सेटमा विजयी भएको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । प्रतियोगितामा आर्मी,शशस्त्रसंगै नेपाल पुलिस क्लवका २,२ टोली गरि कुल ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार,द्धितिय हुने टिमले नगद ३० हजार र तृतिय हुने टिमले नगद २० हजार रुपैया पुरस्कार प्राप्त गर्ने बीच भलिवल प्रतियोगिताका संयोजक माधव दुवाडीले वताए । हात्ती महोत्सव अन्र्तगत आईतवारनै समुह बीको हात्ती फास्ट वाक भएको छ । सो खेलबाट ३ वटा हात्ती फाईनलमा प्रवेश गरेको छ । बी समुहबाट एकताकली प्रथम,लक्कीकली द्धितिय र वसन्तीकली तृतिय हुदै फाईनलमा प्रवेश गरेका हुन् । समुह ए बाट ३ वटा हात्ती फाईनल प्रवेश गरिसकेका छन् । फाईनल १८ गते हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १६ औं संस्करणको हात्ती महोत्सव बाघमारा चौरमा पुष १० गते सुरु भएको हो । महोत्सवमा हात्तीको फुटवल,हात्ती पोलो,हात्ती सुन्दरी,हात्ती पेन्टिङ,हात्ती पिकनिक लगायतका गतिविधीहरु समावेश गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रत्येक वर्ष क्षेत्रीय होटल संघले हात्ती महोत्सव गर्दै आएको छ । यस वर्ष प्रदेश सरकारले सौराहाबाट भ्रमण वर्ष घोषणा गर्न लागेकाले महोत्सवको समयावधि ४ दिन थप गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले वताए । महोत्सवको समापनका दिन अर्थात पुष १८ गते भ्रमण वर्ष घोषणा गरिने उनले वताए ।