चितवन मेडिकल कलेजले सहमति कार्यान्वयन गरेन , विद्यार्थीद्धारा २४ घण्टे अल्टिमेटम

चितवन , १२ असोज

चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् । सरकारले तोकेको शुल्क भन्दा धेरै शुल्क लिएको भन्दै भएको आन्दोलनमा जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा विद्यार्थी र कलेजबिच भएको सहमति कलेजले कार्यान्वय नगरेको भन्दै विद्यार्थी पुन आन्दोलित हुन लागेका हुन् ।

प्रशासनको पहलमा भएको सहमतिमा असोज १० गतेभित्र को को विद्यार्थीबाट कति कति रकम अतिरिक्त लिएको बारे एकिन रकम निकाल्न ७ सदस्यीय कार्यदल गठन भएको थियो । असोज ४ गतेको निर्णय अनुसार उक्त कार्यदलले १० गतेभित्र प्रतिवेदन दिनुपर्ने र कार्तिक १८ गतेभित्र उक्त अतिरिक्त रकम फिर्ता तथा समायोजन गर्ने सहमति भएको थियो ।

चितवन मेडिकल कलेजले उक्त सहमति अनुसार १० गतेभित्र पुरै विवरण नदिएको भन्र्दै विद्यार्थीहरुले २४ घण्टा भित्र पुरा विवरण निकाल्न अल्टिमेटम दिएका छन् । सोमबार बिहान ११ बजेसम्म सबै विवरण निकाल्न कलेज प्रशासनलाई विद्यार्थीले अल्टिमेटम दिएका हुन्। चितवन मेडिकल कलेजले आलटाल गर्न खोजेको विद्यार्थीहरुको आरोप छ । यता कलेज प्रशासनले भने चार वटा ब्याचको विवरण निकाल्न समय लाग्ने भन्दै समय माग गरेको छ ।