रोटरी क्लबले सौराहामा निर्माण गर्ने घण्टाघरको शिलान्यास

चितवन , १३ कार्तिक। 
नेपालकै तेस्रो पर्यटकिय क्षेत्र सौराहामा रोटरी क्लबले घण्टाघर निर्माण हुने भएको छ । रोटरी क्लब अफ रत्ननगरले रत्ननगर नगरपालिका ७ सिसुवारमा निर्माण गर्न लागेको घण्टाघर आज शिलान्यास गरिएको छ ।

करिब २५ लाखको लागतमा निर्माण गर्न लागिएको घण्टाघर ४० फिट अग्लो हुने रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । पर्यटन बर्षलाई लक्षित गरेर निर्माण गर्न लागिएको घण्टाघर आगामी माघ मसान्त भित्र निर्माण सम्पन्न गर्ने तयारी रहेको र निर्माण सम्पन्न पछि स्थानीय सरकारलाई हस्तान्तरण गरिने पोखरेलले वताए । सामाजिक काम गर्दै आएको रोटरी क्लब अफ रत्ननगरले यसअघि रत्ननगरमा पुस्तकालय निर्माण,रत्ननगर अस्पतालमा डायलायसिस मेसिन सहयोग,एकिकृत रोटरी नमुना वस्ती निर्माण,टिकौलीमा सार्वजनिक शौचालय निर्माण लगायतको काम गरिसकेको छ ।

सिसुवार चोकमा निर्माण गर्न लागिएको घण्टाघरको एक कार्यक्रमका बीच रोटरी डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले सिलान्यास गरे । उक्त अवसरमा श्रेष्ठले घण्टा घर निर्माणको लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषण गर्दै रोटरी क्लबहरु सामाजिक काममा अग्रसर हुदैँ सबैको मन जित्नुपर्ने बताए ।

रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीे ,रत्ननगर नगरपालिकाका मेयर नारायण वन , रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट , रोटरीका पूर्व डिष्ट्रिक गर्भनरहरु रविन्द्रकुमार पिया,संजय गिरी,डिष्ट्रिक पूर्व टेनर जितेन्द्रराज भण्डारी,रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ,समाजसेवी सजना महतो,प्याराडाईज युवा क्लवका अध्यक्ष मथुरा चौधरी,क्लवका पूर्व अध्यक्षहरु जगन्नाथ अधिकारी,सुरेन्द्रनाथ रेग्मी लगायतले मन्तव्य राखेका थिए ।