सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे

सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे

असोज १३ गते । पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले ठुला लगानीकर्ता नभित्रिएसम्म सौराहाको विकास हुन नसक्ने औल्याएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार विजयादशमी,शुभ दिपावली,नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामनादा आदान प्रदान कार्यक्रममा वोल्दै पूर्व अर्थमन्त्री पाण्डेले सौराहाको विकासका लागि ठुला होटल निर्माण गर्नु पर्ने र लगानी गर्नु पर्ने वताएका हुन् ।

अहिलेकै अवस्थामा सौराहाको विकास हुन सक्दैन पाण्डेले भने – ठुला लगानीकर्तालाई भित्र्याउन सके यहाँको विकासले फड्को मार्छ,ठुला लगानी आउँदैमा डराउनु हुदैन् । फरक प्रसंगमा प्रतिनिधी सभा सदस्य समेत रहेका पूर्व अर्थमन्त्री पाण्डेले जागिर भन्दा व्यापार ,व्यवसायले धनी वन्न सकिने वताएका हुन् । प्रतिनिधी सभा सदस्य एवंम् प्रतिनिधी सभाको कानुन न्याय तथा मानव अधिकारी समिति सभापति कृष्णभक्त पोखरेलले निषेधको राजनिति नगरी सहकार्यबाटै मुलुकको विकास गर्नु पर्ने वताए । प्रदेश सभा सदस्यहरु कृष्ण प्रसाद खनाल र घनश्याम दाहालले तीनै तहका सरकार मिलेर विकासको गति वढाउनु पर्ने धारणा राखे ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेश जिल्ला सहसचिव सुर्य अर्याल,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का कोषाध्यक्ष ज्ञान वहादुर विसुराल,क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराई,रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।