रत्ननगर महोत्वको तयारी तिव्र , उपराष्ट्रपतिले उद्घाटन गर्ने
चितवन , १५ पुस ।
चितवनको रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सवको तयारी तिब्र पारिएको छ । पुस २५ देखी माघ ७ गतेसम्म संचालन हुने महोत्सवको स्टल निर्माण , गेट निर्माण लगायतको काम तिव्ररुपमा चलिरहेको छ । समग्र चितवनको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिँदै आएको रत्ननगर महोत्सव यसपटक १०औँ संस्करण हो । महोत्सवलाई व्यवस्थित बनाउन टिकौली चौरमा स्टल, विभिन्न जातजातिका घर निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको संघका अध्यक्ष तथा मूल समारोह समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको अध्यक्ष रेग्मीले बताए ।
यसवर्ष महोत्सवमा भ्रमण वर्ष–२०२० को प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । भ्रमण वर्षलाई केन्द्रित गरी चितवनको पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि हेलिकप्टरमार्फत स्थानीय पर्यटकीयस्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणका लागि महोत्सवमा प्रदर्शन गरिने छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको प्रदर्शन, स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने पाँच सयवटा स्टल रहने संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए । यसपटक महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको मेला प्रवद्र्धन समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।