नमुनावस्तीका दाहाल आमा छोरीलाई गजुरेलले जुटाए सहयोग
पुष १५ गते ।
शारिरिक अस्वस्थता तथा आर्थिक अभावबाट पीडित खैरहनी नगरपालिका २ लदरी नमुना वस्ती निवासी विष्णु कुमारी दाहालकी आमा छोरीलाई खाद्यान्न सहयोग गरिएको छ । खैरहनी निवासी सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलको समन्वयमा सहयोग जुटाएर आमा एक सय वर्षिया विष्णु कुमारी दाहाल र छोरी ६८ वर्षिया छोरी धनकुमारी दाहाललाई करिव ४ महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरिएको हो । खैरहनी ८ का स्थानीय अशोक न्यौपानेले आर्थिक सहयोग गरेपछि गजुरेलले खाद्यान्न खरिद गरि दाहाल आमा छोरीलाई हस्तान्तरण गरिएको थियो । मंगलवार विहान गजुरेल,स्थानिय स्वयमसेविका चन्द्रा श्रेष्ठ,उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सुजाता खनाल,पत्रकार धु्रवराज खनालले उनीहरुको घरमा पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए ।
विगत १५ दिनदेखी खाद्यान्न अभाव रहेको र चुल्हो समेत वल्न छोडेको थाहा पाएपछि गजुरेलले सहयोग खोज्दै हिडेका थिए । विगत एक वर्ष देखी गजुरेलले ति आमा छोरीलाई विभिन्न माध्यमबाट आर्थिक संकलन गरि सहयोग गर्दै आएका छन् ।