हात्ती पोलोमा रत्ननगरसामु राप्ती निरीह
पुष १५ गते । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिका विजयी भएको छ । चितवनको राप्ती नगरपालिकालाई ५ – २ गोल अन्तरले पराजीत गर्दै रत्ननगर नगरपालिका विजय भएको हो । मंगलवारको जीत संगै रत्ननगर फाईनलमा पुगेको छ । फाईनलमा रत्ननगरले बुधवार खैरहनी नगरपालिकाको सामना गर्नेछ । मंगलवारको खेलमा रत्ननगरलाई जिताउन विनोद चौधरी एक्लैले पाँच गोल गरेका थिए । राप्ती नगरपालिकाका लागि चन्द्रमान तामाङले दुई गोल गरे । गाडा सजावट प्रतियोगितामा डिम्बर महतोको गाडा प्रथम,हरिराम महतोको गाडा द्धितीय र गान्धी महतोको गाडा तृतीय भएका थिए । सौराहामा पर्यटकलाई थारु बस्ती अबलोकनको लागि गाडाको प्रयोग हुदै आएको छ । गाडाप्रति पर्यटकको आर्कषण बढाउन गाडा सवावट प्रतियोगिता गरिएको हो ।
चितवनको पर्यटन प्रर्वधनको लागि क्षेत्रीय होटल संघ चितवनले महोत्सवको आयोजना गरेको हो । भ्रमण बर्षको अबसर पारेर प्रदेश सरकार,रत्ननगर नगरपालिका र सौराहाका व्यवसायीहरुले सयुक्त रुपमा विशेष कार्यक्रम गर्दै छन । हावाइमार्गबाट चितवन आउने पर्यटकलाई भरतपुर विमानस्थल र स्थालमार्गबाट आउने पर्यटकलाई सौराहामा रहेको बसपार्कमा स्वागत गर्ने कार्यक्रम तय गरिएको रत्ननगरका मेयर नारायण वनले बताए । बुधवार नै प्रदेश नं ३ अन्तर्गतका विभिन्न जातजातीका सांस्कृतिक नृत्य सौराहामा प्रस्तुत हुदैछ । सौराहामा बेलुका ४ बजे देखि राती ९ बजे सम्म सडककै रमाउने कार्यक्रम गरिने मेयर वनले बताए । बुधवार नै रेष्टुरेष्ट एण्ड वार एसोसियसन सौराहाले हात्तीचोक देखि राप्ती किनार सम्म सडकमै फुड फेष्टिवल गर्ने अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।