कोरोनाः न कोसेलीको आश, न त खबर बुझ्ने उत्सुकता

कोरोनाः न कोसेलीको आश, न त खबर बुझ्ने उत्सुकता

सोलुखुम्बु, १५ असोज

नेपाल सरकारले यही असोज १ गतेदेखि लामो दूरीकोे यातायात सञ्चालन गरेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमणको त्रास बढेको छ । अहिले सडक तथा हवाई मार्ग हुँदै देशको जुनसकै क्षेत्रबाट नागरिक निर्बाध आउने क्रम बढेको छ ।
विगतका दिनमा शहरबाट नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकी अहिले परपरै भाग्ने गरेका छन् । अहिले न त कोसेलीको आश छ न त नयाँ खबर बुझ्ने इच्छा रु शहरबाट आउनेसंँग कोरोना सङ्क्रमण हुन सक्ने भएकाले कोसेली त के भेट्नसम्म नपाए हुन्थ्यो भन्नेको सङ्ख्या बढी पाइन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क हेर्दा असोज १ गतेदेखि बुधबार बिहानसम्म सडक हुँदै एक हजार ९२३ जना जिल्ला भित्रिएका छन् । ट्राफिक प्रहरी इञ्चार्ज कृष्ण कटुवालका अनुसार उनीहरु ३९५ सुमो र १५० वटा बसमार्फत जिल्ला भित्रिएका हुन् ।
जिल्ला भित्रिएका नागरिकको न त पिसिआर परीक्षण छ न त क्वारेण्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ । यसले जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै स्थानीयवासीले चिन्ता व्यक्त गरेका हुन् । नेपालमा दिनप्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढदै जाँदा यातायात सञ्चालनले गाउँबस्तीमा समेत कोरोना फैलन सक्ने नेचासल्यान गाउँपालिकाका हिमबहादुर बस्नेत चिन्ता व्यक्त गर्नुहुन्छ ।
शुरुआती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकलाई क्यारेन्टिनमा राख्ने, आवगमनमा कडाइ गर्ने, सीमानाकामा जाँच गरे पनि अहिले कति नागरिक गाउँपालिका भित्रिए भन्नेसमेत तथ्याङ्क राख्न सकेका छैनन् । गाउँघरमा आएका नागरिकसमेत खुला रुपमा हिँडडुल गर्दा कोरोना सङ्क्रमण भयावह स्थितिमा पुग्ने बस्नेतको अनुमान छ ।
जिल्ला भित्रिने मुख्य नाका सोलु दूधकुण्ड नगरपालिका पत्ताले भए पनि नगरपालिकाँग भने के कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङ्क छैन । सङ्घीय सरकारले नै लामो दूरीको यातायात सञ्चालन गरेपछि स्थानीय तहमा भित्रने नागरिकका विषयका समन्वयमा समेत समस्या भएको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।“जिल्ला बाहिरबाट आएका नागरिकको व्यवस्थापन अहिलेकोे मुख्य चुनौती रहेको छ ”, अध्यक्ष राईले भन्नुभयो, “स्थानीय नागरिक सचेत हुनुको विकल्प छैन ।”
लामो दूरीको यातायात र हवाई उडानसमेत सञ्चालन भएसँगै दशैँतिहारका लागि नागरिक आउने क्रम बाक्लिएको छ । असोजको पहिलो सातादेखि जिल्लाका सबै क्षेत्रमा विद्यालयसमेत सञ्चालन भइसकेको छ । यस अवस्थामा खुला आवागमन तथा व्यवस्थापनमा ध्यान नपुग्नाले आगामी दिनको अवस्था जटिल हुने स्थानीय नागरिक बताउँछन् ।
समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण फैलन सक्ने अनुमान गरिरहँदा जिल्लामा कोरोना परीक्षणसमेत हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेल स्वीकार गर्नुहुन्छ ।
नेपालमा कोरोनाको महामारी नफैलिँदा नै क्वारेन्टिनमा बस्ने, राख्नेलगायत प्रभावकारी ढङ्गबाट काम गरेको देखाउने निकायसँग पछिल्लो अवस्थानुसारको विशेष योजना बनाउन स्थानीयवासीको माग छ । सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा भने स्वाब सङ्कलन र परीक्षणलाई आगामी दिनमा तीव्रता दिइने बताउनुहुन्छ ।
हाल कोरोना सङ्क्रमणमुक्त रहेको सोलुखुम्बुमा रेड जोनबाट आएका नागरिक खुला हिँड्डुल गर्न थालेपछि सङ्क्रमणको जोखिम बढेको सल्लेरीका विवेककुमार दासको भनाइ छ । यस विषम परिस्थितिमा समेत स्थानीय तहले ठोस कदम चाल्न नसकेको उहाँको गुनासो छ । यही अवस्था रहिरहने हो भने शुरुआती चरणमा कोरोना रोकथाम तथा नियन्त्रणमा गरिएको करोडाँै खर्च बालुवामा पानी हालेको जस्तै हुने आङ्पेम्बा शेर्पा बताउनुहुन्छ । रासस