क्रोएसियाका प्रधानमन्त्रीलाई पनि कोरोना सङ्क्रमण

बेल्ग्रेड, १६ मङ्सिर।
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

गत शनिबार उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो ।

उहाँलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उहाँ दश दिनका लागि सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो । तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन् ।

अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ । उहाँले घरबाटै आफ्ना कामहरु गरिरहनुभएको पनि अधिकारीहरुले बताएका छन् ।

उहाँले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गर्नुभएको उहाँका सहयोगीहरूले जानकारी दिएका छन् । (रासस÷एएनआई)