सुर्खेतमा ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु, आइतबार यातायात बन्द
सुर्खेत,१८ माघ ।
ट्रक र ट्रयाक्टर जुध्दा मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेका छन्।
शनिबार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो।
शुक्रबार जुम्लारोडस्थित पिपिराचोकमा ट्रक र ट्रयाक्टर एक आपसमा ठोक्किँदा ट्याक्टर चालक जुनीचाँदे गाउँपालिका–१ जाजरकोटका प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो।
लु १ ख ७६७० नम्बरको ट्रकले भे १ त ७५८९ नम्बरको ट्रकलाई ठक्कर दिँदा हाल वीरेन्द्रनगर–१२ एयरपोर्ट नजिकै बस्दै आएका ट्रयाक्टर चालक तथा साहु कार्कीको मृत्यु भएको थियो।
दुर्घटनालगत्तै उचित क्षतिपूर्तिका लागि प्रशासनलाई आग्रह गरे पनि कुरा नमिलेपछि पीडित परिवारले संघर्ष समिति नै बनाएर आन्दोलनको घोषणा गरेका छन्।
इण्डिकेटर (साइड लाइट) बालिरहेकै अवस्थामा ट्रयाक्टरलाई ट्रकले ठक्कर दिएको भन्दै पीडित पक्षले ट्रक चालकलाई हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
पीडित पक्षले मृतकको शव बुझेका छैनन् भने सहमति नहुँदा पोष्टमार्टम समेत हुन सकेको छैन।
शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ।
आन्दोलनअन्तर्गत माघ १९ गते (भोलि) वीरेन्द्रनगरबाट भित्रिनेरबाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारी साधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्ण रूपमा बन्द गराउने बताइएको छ।
यी संघर्षका कार्यक्रमपश्चात् पनि आफ्ना माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने जनाइएको छ।
प्रशासनले उचित क्षतिपूर्तीसहित सहमति जुटाउनुको साटो लास उठाउन आफन्तलाई एकतर्फी दबाब दिएको आरोप पीडित परिवार संघर्ष समितिका संयोजक कृष्ण बहादुर कार्कीले बताए।
उनले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन्।
उनका अनुसार पीडित परिवारले ट्रक चालक र धनीलाई कानुनबमोजिम कारबाही, मृतकका बालबालिकाको सम्पूर्ण पठनपाठनको जिम्मेवारी ट्रक चालक र धनीले लिनुपर्ने, मृतकको परिवारलाई बीमाबाहेक थप क्षतिपूर्ति दिनुपर्ने, घाइतेलाई पूर्ण उपचारको व्यवस्था, दुर्घटनामा परेको ट्रयाक्टरको जिम्मा पनि ट्रक धनीले लिनुपर्ने माग गरेका छन्।