महोत्तरीमा ६१ वर्षीय यादवमाथि गोली प्रहार

महोत्तरीमा ६१ वर्षीय यादवमाथि गोली प्रहार

काठमाडौं,१८ फागुन ।

महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो । गोली लागेर यादव घाइते भएका छन् ।

महोत्तरीका डीएसपी माधव बुढाथोकीले घटनाको पुष्टि गर्दै शौचालय जान निस्केका बेला यादवमाथि गोली प्रहार भएको जानकारी दिए । गोली ६१ वर्षीय यादवको छातीमुनि लागेको छ ।

घाइते यादवलाई उद्धार गरेर जानकी केयर अस्पताल लगिएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुलेको छैन । ‘घटना कसले र किन गरायो भन्ने खुलेको छैन,’ डीएसपी बुढाथोकीले अनलाइनखबरसँग भने, ‘हामीले यसबारे अनुसन्धान गरिरहेका छौं ।’