अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं,१८ फागुन ।

अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौंमा उजुरी परेको छ । चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारबाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् ।

अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छायांकनका लागि पोखरामा छन् । शुक्रबार मात्र उनी चलचित्र ‘ए मेरो हजुर–४’को छायांकनका लागि पोखरा गएका हुन् । उनी पोखरा गएपछि निर्माता जयन श्रेष्ठले कारबाहीका लागि प्रहरीले थप अनुरोध गरेका हुन् ।

जयन र रुपेशले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरे’ लागि अभिनेता अनमोल केसी ४० लाख पारिश्रमिकमा गत ३ असोजमा अनुबन्धित भएका थिए । मंसिरबाट छायांकन सुरु गर्ने भनिएको यो चलचित्रको स्कृप्ट चित्त नबुझेपछि अनमोलले धुपौरे खेलेनन् । फिल्मको स्कृप्ट परिमार्जन गरेको खण्डमा मात्र काम गर्ने अनमोलले बताए । त्यसपछि अनमोल अन्य दुईवटा सिनेमा ‘ए मेरो हजुर–४’ र ‘पारस’मा अनुबन्धित भइसकेका छन् ।

चलचित्रका लागि ५ लाख रुपैयाँ पेस्की लिएर फिल्मको काम पनि सुरु नगरेको र अन्य सिनेमामा धमाधम काम सुरु गरेको भन्दै धुपौरेका निर्माताले अनमोलविरुद्ध उजुरी दिएका हुन् ।

अनमोलले समयमै काम नगर्दा आफूहरूलाई करिब ३० लाख रुपैयाँ घाटा भएको यी निर्माताको भनाइ छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको चलचित्र धुपौरेको स्कृप्टकै कारण अनमोलले नखेलेपछि सो चलचित्रको काम रोकिएको छ । यता प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाउने बताएको छ ।

यसै विषयमा अनमोलसँग सम्पर्क नभएपछि उनका पिता भुवन केसीले भने,‘प्रहरीमा धुपौरेका निर्माता पुगेको जानकारी हामीलाई पनि प्रहरीबाट आयो । फिल्मको त्यो स्कृप्टमा काम गर्न नसिकने भएकाले स्कृप्ट परिमार्जन गरेर काम गरौं भन्ने हाम्रो प्रस्तावलाई उहाँहरूले नमान्नु भएको हो ।’ उनले अगाडि थपे, ‘आफ्नै गृह ब्यानरको फिल्म एन्टी हिरोको त स्कृप्ट चित्त नबुझेर अनमोलले खेल्न नमानेको बेला धुपौरेको स्कृप्ट परिमार्जन गर्न माग गरिएको हो । स्कृप्ट परिमार्जन नगर्ने हो भने हामीले उहाँहरूलाई फिल्म बापतको ५ लाख रुपैयाँ पेस्की फिर्ता गर्छौं भनेर ताकेता गर्दा गर्दै उहाँहरू प्रहरीसमक्ष पुग्नुभएको हो ।’

अनमोलले फिल्म खेल्दिन नभनेको र निर्माण पक्षले दिएको पेस्की फिर्ता दिन आफूहरू तयार रहेको भुवन केसीले प्रकाश पारे । ५० लाखमा काम गर्ने भनिएको यो फिल्मका लागि उनीहरूको आग्रहमा अनमोल ४० लाख रुपैयाँमै खेल्न तयार भएको पनि अभिनेता निर्माता भुवन केसीले स्पष्ट पारे ।

चलचित्र धुपौरेको कथा मन परेपछि अनमोलले यो फिल्म खेल्ने भनेर सम्झौता गरेका थिए । सो क्रममा फिल्मको छायांकन स्थलको खोजीमा निर्देशकसँग अनमोलसमेत हिंडेका थिए । पछि पूरा स्कृप्ट तयार भएपछि स्कृप्ट चित्त बुझेन भनेर उनले चलचित्र धुपौरेको काम अघि बढाएका हुन् ।-राजधानीबाट साभार