
विराटनगर,१८ फागुन
मोरङको उर्लाबारी नगरपालिकामा आइतबार बिहान हात्तीले दुईवटा घर भत्काएर क्षति पुर्याएको छ । जंगलबाट बिहान ४ बजे निस्किएको हात्तीले उर्लाबारी ५ का सञ्जीव सुवेदीको इँटाको गाह्रो र कर्कटपाताको छानो भएको घरमा क्षति पुर्याएको हो । एक तले घरको गाह्रो भत्काउँदा ६० हजार बराबरको क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
त्यस्तै उर्लाबारी १ का प्रेम श्रेष्ठको इँटाको गाह्रो र कर्कटपाताको छानो भएको घरमा पनि हात्तीले क्षति पुर्याएको छ । दुई तले घरको एकातर्फको पूरै गाह्रो हात्तीले भत्काउँदा ५० हजार बराबरको क्षति भएको डीएसपी राईको भनाइ छ । घरमा क्षति पुर्याएपछि हात्ती जंगलतर्फ भागेको स्थानीय बासिन्दाले बताएका छन् ।