सुनको भाउ घट्यो, यस्तो छ बजार भाउ ?
काठमाडौं,१८ फागुन
सुन–चाँदीको भाउ ओरालो लाग्न थालेको छ । यो साताको पहिलो दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा आएको हो । गत शुक्रबार सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको भाउ पनि १ हजार २०० रुपैयाँले घटेर ७७ हजार ७०० रुपैयाँमा झरेको छ ।
गत शुक्रबार तेजानी सुनको भाउ ७८ हजार ९०० रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको थियो । छोटो सयममा अत्याधिक बढेकाले अहिले फेरि मूल्य करेक्सन भएको व्यवसायीहरु बताउँछन् ।
कोरोनाका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन थालेको व्यवसायीको दाबी छ । विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ । किने भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ । सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफासमेत जोडी बिक्री गर्छन् ।