खैरहनीमा आफुखुसी राहत वाड्न नपाईने

खैरहनीमा आफुखुसी राहत वाड्न नपाईने

चैत १९ गते ।   विपन्न र ज्यालामजदुरी गर्नेहरुमा खाद्यान्न अभाव पूर्ती गर्न खैरहनी नगरपालिकामा तत्काल राहत वितरण तथा व्यवस्थापन समिति गठन गरिएको छ । खैरहनी नगरपालिका विपद व्यवस्थापन समिति संयोजक समेत रहेका वडा नम्वर १ का वडाध्यक्ष भुमी प्रसाद कडेंलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । समिति सदस्यहरुमा नगर प्रवक्ता एवंम् वडाध्यक्ष रामशरण पाण्डे,वडाध्यक्षहरु टेकवहादुर थापा क्षेत्री,मनेजर महतो,प्रतिमा  कार्की,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,प्रशासकीय अधिकृत दामोदर अधिकारी रहेका छन् । सो समितिले प्रत्येक वडामा राहत पठाउने र वडाले टोलमार्फत वितरण गर्न लगाउने छ ।

संभवत विहीवारदेखी प्रत्येक वडामा राहत वितरणको काम हुनेछ । प्रत्येक वडाबाट विपन्न तथा ज्याला मजदुरी गर्नेहरुको तथ्यांक संकलन भईसकेकाले सोही अनुसार वितरण हुने विपद व्यवस्थापन समिति संयोजक भुमी प्रसाद कडेंलले वताए । बुधवार नगरपालिका मेयर लालमणी चौधरीको उपस्थितीमा वसेको वैठकले राहत वितरण एकद्धार प्रणाली मार्फत गर्ने निर्णय गरेको छ । अव कोही व्यक्ती,संघसंस्थाले राहत वितरण गर्न चाहे नगरपालिकाको राहत कोषमा जम्मा गर्नु पर्ने छ ।

नगरपालिकाको मापदण्ड अनुसार ४ जना सम्मको परिवारलाई १० किलो चामल,नुन,तेल,दाल तथा सो भन्दा माथीको परिवारलाई १५ किलो चामल,नुन,तेल र दाल अनिवार्य हुनु पर्नेछ । नगद सहयोग गर्न चाहेमा नगरपालिकाको खाता नम्वर ०५०९१०११५०६४०२७ मा जम्मा गर्न सकिने र सिधै नगरपालिकामा नगद पनि जम्मा गर्न सकिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । वडा समितिले राहत गर्नु पूर्व वडामा दलका प्रतिनिधीहरुको छलफल गराई सहमती अनुसार वितरण गर्ने व्यवस्था समेत वैठकले गरेको छ ।