दिल्लीमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

दिल्लीमा कोरोना ‘फैलाउने’ धार्मिक सभामा सहभागी ६ जना सप्तरीमा भेटिए

काठमाडौं,१९ चैत्र ।

भारतको राजधानी नयाँदिल्लीमा मुस्लिमको धार्मिक सभामा सहभागी भएर फर्किएका ६ जना सप्तरीमा भेटिएका छन्।

निजामुद्दिनमा मुस्लिम संस्था तबलिगी जमातको हेडक्वार्टरमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका ६ जनालाई प्रहरीले फेला परेको हो।

भारतमा कोरोना भाइरस ९कोभिड–१९० फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी ६ जनालाई घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टानमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी तिकल भारतीले जानकारी दिए।

“उक्त धार्मिक सभामा सप्तरीका ८ जना सहभागी भन्ने सुनिएको छ,” भारतीले भने, “फेला परेकाहरूलाई शाही कृष्ण मेडिकल कलेजको क्वारेन्टाइनमा पठाइएको छ, बाँकी दुई जनाको खोजी जारी छ।”

फेला परेकामध्ये तीन जना जिल्लाका ठूला व्यापारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू केही दिनअघि दिल्लीबाट फर्किएका थिए।

उक्त धार्मिक सभामा सहभागीहरूमा कोरोना भाइरसको संक्रमण देखिएको र कतिपयको मृत्युसमेत भइसकेको छ। भारतमा मृत्यु हुनेमा एक नेपालीसमेत रहेको स्रोतले जनाएको छ।

यस्तै, धार्मिक सभामा बाँकेका दुई जना पनि सहभागी भएको बुझिएको छ। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सभामा सहभागी रौतहट, बारा र पर्साका २० जना दिल्लीमै क्वारेन्टाइनमा रहेको बुझिएको छ।