५० हजार घूससहित कैलालीमा सामुदायिक वनका अध्यक्ष पक्राउ

५० हजार घूससहित कैलालीमा सामुदायिक वनका अध्यक्ष पक्राउ

महेन्द्रनगर,१९ वैशाख ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा–१० घर भएका सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष बिर्ख धामी छन् ।

उनले घरायसी झगडालाई उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिएर सर्वसाधारणबाट घुस लिएका अख्तियारले जनाएको छ ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार घुस रकमसहित बडैपुरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।