गुरुकूलको पठनपाठन र बटुक पर्खदै मटिहानीवासी

गुरुकूलको पठनपाठन र बटुक पर्खदै मटिहानीवासी

महोत्तरी, १६ असोज

“हरिॐ नमस्ते रुद्र मण्याय…!” सखारैको रुद्राभिषेक पाठ । लामो टुपी पालेका पित बस्त्रधारी बटुकहरुको रुद्राभिषेक पाठसँगै शुरु हुने नियमित दैनिकीको चहलपहल पछिल्लो सात महिनायता महोत्तरी जिल्लाको भारतीय सीमावत्र्ती मटिहानीस्थित गुरुकूल (राजकीय संस्कृत माध्यमिक विद्यालय) मा देखिन छाडेको छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिमले पठनपाठन रोकिएपछि पछिल्लो सात महिनायता गुरुकूल सुनसान बनेको हो । संस्कृृत शिक्षा पढ्ने चाहनाले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थी सङ्क्रमण जोखिम छल्न आफ्ना घर गएका छन् । मुलुकका विभिन्न भेग र छिमेकी मित्रराष्ट्र भारतका बटुकहरु गुरुकूल छात्रावासमा बस्दै आएका छन् । मुलुककै विभिन्न क्षेत्रका र मित्रराष्ट्र भारतका बटुक (विद्यार्थी) को आत्मीय र अनुशासित आहारब्यवहार मटिहानीवासीको सम्झनामा रहने गरेको छ ।

संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती रहेका मटिहानीवासीको आमप्रतिक्रिया भेटिन्छ । “पछिल्लो सात महिनायता कोभिड–१९ सन्त्रासले गुरुकूलको पठनपाठन र छात्रावास बन्द हुँदा हाम्रो केही कुरा हराएको झैं लाग्छ”, गुरुकूल रहेको महिटानी नगरपालिका–७ का वडाध्यक्ष दिपनारायण माझी भन्नुहुन्छ, “गुरुकूलका बटुकको अनुशासन, नित्य रुद्राभिषेक पाठ र योगध्यानसहित कक्षाचित्तमा सधैं रहने सम्झना हुन् ।” फुर्सतका बेला बजार र बस्ती घुम्न निस्कदा पहाडबाट झरेका विद्यार्थीको हुने बिनम्र बोलीचाली र शिष्टाचारयुक्त ब्यवहार यहाँका बासिन्दाका लागि आकर्षण हुने गरेको मटिहानी–७ का वडाध्यक्ष माझी बताउनुहुन्छ ।

मटिहानी विगतदेखि नै संस्कृत शिक्षा अध्ययनको खास थलोका रुपमा परिचित छ । दुर्गम पहाडी जिल्लाबाट आउने एउटाको सम्पर्क सूत्रले त्यताबाट विद्यार्थी थपिने गरेका छन् । कक्षा आठदेखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले दुर्गम पहाडी जिल्ला दैलेखका मात्रै २० विद्यार्थी छन् । पश्चिम नेपालको विकट पहाडी जिल्लाबाट मध्यपूर्वी तराईको भारतीय सीमावत्र्तीस्थित मटिहानी झरेका विद्यार्थी यसै ठाउँमा जन्मीहुर्की बढेका जस्तो उमेर अनुसारको नाता लगाएर बोल्ने गरेका स्थानीय सामाजिक÷राजनीतिक कार्यकर्ता राजकिशोर मण्डल बताउनुहुन्छ ।

विसं २०६२ मा संस्कृत शिक्षाको मोहले दैलेखको दुल्लुबाट आएका विद्यार्थी देवर्षी नेपालले शिक्षाका लागि नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट १०० मिटर दूरीभित्रको यो विद्यालयमा जोडेका साइनोले त्यसयता त्यहाँबाट ५० भन्दा बढी विद्यार्थी आइसकेको विद्यालयका प्राचार्य इश्वरी पौडेल बताउनुहुन्छ । “हुन त अन्य पहाडी जिल्लाबाट पनि विद्यार्थी आएकै छन् तर दैलेखको साइनो चैं विशेषजस्तै लाग्छ”, उहाँ भन्नुहुन्छ, “शिक्षाप्रतिको लगाव, मिहिनेत र अनुशासनको कुरामा पनि दैलेखका विद्यार्थी अब्बल छन् ।” विकट पहाडी जिल्लाबाट पढ्न मधेशको पनि भारतसँगै सीमा जोडिएको बस्तीमा आएका फरक मातृभाषी यी विद्यार्थीको सङ्गतबाट मटिहानीका सर्वसाधारण पनि फरक भाषा, संस्कृतिसँग परिचित हुुने गरेको प्राचार्य पौडेल बताउनुहुन्छ ।

पहाडी विद्यार्थीसँगको हेलमेलले मटिहानीसँगै जोडिएको भारतीय बजार मधवापुरमा पनि नेपाली भाषा बुझ्ने बोल्ने प्रशस्त भेटिन्छन् । त्यसैगरी पहाडी विद्यार्थी पनि मिथिलाको स्थानीय भाषा मैथिली बोल्न पोख्त भएका छन् । विसं १७७५ मा स्थापित भनिने यो विद्यालयको प्रामाणिक अभिलेख भने विसं १८८२ देखिको भेटिएको छ । दैलेखको दुल्लुबाट आएर यसै गुरुकूलबाट भर्खरै एसइई (माध्यमिक शिक्षा परीक्षा) उतीर्ण गरेका छात्र दिपक कार्की विद्यालयका गुरुजन र स्थानीय बासिन्दाको स्नेह एवम् अध्ययन अनुकूल विद्यालय अनुशासनले सधैं उर्जावान बनाइ राख्ने बताउनुहुन्छ । दिपकका एकाघर सगोलकै दुई जना दाजुले संस्कृत शिक्षामा उच्च तहको अध्ययन मटिहानीबाटै पूरा गरिसकेका छन् ।

दैलेखको दुल्लुकै किशोर नेपाल, हृदयेन्द्र खडका, प्रकाश भण्डारी, खगेन्द्र भण्डारी, टङ्क थापा, दिनेश पौडेल र विवेक कार्कीसहित बटुक अहिलेका विद्यार्थी हुन् । दुल्लु र मटिहानीको यो सम्बन्ध र सम्पर्कको सूत्रधार भने दुल्लु निवासी विद्यालयका पूर्व विद्यार्थी देवर्षी नै भएको गुरुकूलका शिक्षकहरु बताउनुहुन्छ । “दैलेखसँग हाम्रो नाता जोड्ने देवर्षी नै हुन्”, विद्यालय (गुरुकूल) का कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा भन्नुहुन्छ, “अध्ययन सकेर विभिन्न पेशामा लागिसकेका र अहिले अध्ययनरत् जोड्दा पछिल्लो १२÷१३ वर्षमा दैलेखको दुल्लुका मात्रै ५० भन्दा बढी छात्रले गुरुकूलसँग नाता जोडेका छन् ।”

राजकीय संस्कृत माध्यमिक विद्यालयसँगै जोडिएर भगवान लक्ष्मीनारायण र महामुनी याज्ञबल्क्यका नाउँमा स्थापित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा स्नातक तहसम्मको उच्च शिक्षा गर्न पाएपछि यहाँ पढ्न आउने विद्यार्थीलाई थप सजिलो भएको हो । विद्यालय परिसरमा पुग्ने विशिष्ट पाहुनाको स्वागतमा बटु (छात्र) हरु वैदिक मन्त्रोच्चारणले न्यानो स्वागत र स्वस्तिवाचन गर्छन् । विद्यालयको दैनिक तालिकामा बाँधिएको नियमले सबैलाई अनुशासनमा बाँधेको छ । “बिहान उठ्ने, नित्यकृयाबाट निवृत हुने, योगाभ्यास गर्ने, दैनिक रुद्री पाठ गर्ने, खाने, कक्षामा जाने, गृहकार्य गर्ने, घुम्ने, खेलकुद गर्ने र रात्रि बिश्रामसम्मका सबै कामका निश्चित समय तालिका बाँधिएको छ”, ८५ वर्षीय मण्डल भन्नुहुन्छ, “कोभिड–१९ महाब्याधीले अचेल बटुक र गुरुकूलको चहलपहल देख्न नपाउँदा हामी न्याश्रिएका छौं ।” कहिले विद्यालय खुल्ला र बटुकहरुको चहलपहल हेर्न पाइएला भन्ने प्रतिक्षामा रहेको उहाँको भनाइ छ ।

विद्यालयमा आयोजन हुने अतिरिक्त क्रियाकलापमा वक्तृत्वकला, गायन र मनोरञ्जनात्मक कार्यक्रम पनि समाविष्ट छन् । कोभिड–१९ सन्त्रास छाउनु पूर्व गत हिउँदमा गुरुकूल परिसरमै भेटिएका अहिले कक्षा ९ (त्यतिखेर कक्षा ८) का छात्र युवराज न्यौपाने बेदका ऋचा कण्ठस्त भन्न मात्र नभएर गायन र वक्तृत्व क्षमतामा पनि उत्तिकै कुशल भेटिएका थिए । सिन्धुपलाञ्चोकको बा¥हबिसे–२ का १२ वर्षीय न्यौपाने एकपटक सुनेकै भरमा अङ्ग्रेजी, स्पेनिस, संस्कृत, हिन्दी र नेपालीगीत कण्ठस्त गाएर सुनाउन अभ्यस्त नै छन् । “म आर्य संस्कृतिको प्राचीन भाषा संस्कृत पढ्ने अभिलाषाले यहाँ आइपुगेको हुँ”, न्यौपानेले त्यतिखेर भनेका थिए, “यो प्राचीन भाषा सम्बद्र्धन गर्न नसकिए पूर्वीय वैदिक संस्कृतिको उज्यालो छर्न सकिने छैन ।”

केही दशक पहिलेसम्म ब्राह्मण जातिका लागि मात्र शिक्षाको अवसर रहेको यो बिद्यालयमा अहिले सबै समुदायका छात्र÷छात्रा पढ्न पाउने भएका छन् । अहिले विद्यालयमा दैलेखबाहेक सिन्धुपलाञ्चोक, ओखलढुङ्गा, खोटाङ्ग, रामेछाप र दोलखासहितका पहाडी जिल्लाका एवम् केही भारतीय विद्यार्थी पनि अध्ययनरत छन् । यसबाहेक महोत्तरीसहित तराई क्षेत्रका विद्यार्थी रहेका विद्यालयले जनाएको छ । यद्यपी विद्यालयमा विद्यार्थीको उल्लेख्य सङ्ख्या भने पहाडले नै भर्ने गरेको शिक्षक बताउँछन् । अन्य विद्यालयमा कक्षा नौदेखि माध्यमिक तहमा भनिए पनि यहाँ भने कक्षा आठदेखि नै माध्यमिक तह मानिन्छ । अहिले विद्यालयमा कूल १२२ विद्यार्थीमा छात्रा ३२ रहेको प्राचार्य पौडेलले जानकारी दिनुभयो । “विद्यालय भर्ना र अध्ययनमा सबै जातजाति र भाषाभाषिका लागि समान अवसर छ यहाँ” प्राचार्य पौडेलले बताउनुभयो ।

अन्य माध्यमिक विद्यालयमा जस्तै यहाँ पठनपाठन हुने अनिवार्य विषयका अतिरिक्त अनिवार्य संस्कृत र ऐच्छिक विषयमा संस्कृत भित्रका साहित्य, ज्योतिष, वेद, व्याकरण, न्याय र कर्मकाण्डमध्ये दुईवटा विषय पढ्नु पर्ने व्यवस्था छ । दुई दशक पहिलेसम्म भरिभराउ विद्यार्थी हुने यो विद्यालयमा संस्कृततर्फको रुची घट्दै गएर विद्यार्थी सङ्ख्या पातलिएको प्राचार्य पौडेलको ठम्याइ छ ।

विद्यालयमा अध्ययन गर्ने ४४ छात्रछात्रालाई गुठी संस्थानले मटिहानीस्थित लक्ष्मीनारायण गुठीमार्फत खानाबापत दाल, चामल दिए पनि सागसब्जी, मसला, तेलभुटुन र इन्धनबापत प्रतिव्यक्ति मासिक रु १५० मात्रै दिँदै आएको छ । संस्कृत अध्ययनतर्फ रुची बढाउन थप सुविधा विस्तार गर्नुपर्नेमा दशकौं अघिको यो व्यवस्थाले छात्रावास सञ्चालन निकै गा¥हो काम बनेको प्राचार्य पौडेलको भनाइ छ । टाढाटाढाबाट पढ्न आउने विद्यार्थीका लागि खाट, ओढ्ने ओछ्याउने लुगा र खाना व्यवस्थापनको काम मागचाङ्बाट चलेको प्राचार्य पौडेल बताउनुहुन्छ ।

बालगुरु षडाननले समेत शिक्षा लिएको मानिने यो विद्यालय तश्मैया बाबा (तश्मैया नाउँका साधक (मुनी) ले स्थापना गरेर यसको सञ्चालन व्यवस्था गुठीबाट हुने व्यवस्था मिलाएको मटिहानीका बुढापाका बताउँछन् । पछिल्लो समय शिक्षा मन्त्रालय, गुठी संस्थान र अन्य सम्बद्ध निकायको उदासिनताले पूर्वीय दर्शन र प्राचीन साहित्य अध्ययनको यो थलो क्रमशः आकर्षणविहीन बन्दै गएको यहाँका बासिन्दाको गुनासो छ । कुनै खास भूगोल क्षेत्र मात्र नभएर पूर्वीय वैदिक संस्कृतिको उज्यालो सबैतिर छर्दै आएको राजकीय संस्कृत माध्यमिक विद्यालय र याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठको संरक्षण र सम्वद्र्धनमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले चासो बढाउनु पर्ने माग अहिले बढ्दै गएको छ ।