सरकारको निति र काम फरक भएको व्यवसायीको गुनासो
चितवन , १७ पुस।
सरकारको निति र काम गराई फरक पर्दा कुखुरा व्यवसायी मर्कामा परेको व्यवसायीहरुले बताएका छन् । सातौँ पोल्ट्री दिवसको अवसरमा चितवनको भरतपुर आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय पोल्ट्री क्षेत्र धरासयी अवस्थामा पुगेको बताएका छन् ।
पोल्ट्री क्षेत्र आफै आत्मनिर्भर भएको भन्दै अहिले समस्या देखिदा समेत कतैबाट सहयोग नभएको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणराज विष्टले बताए । अब एकिकृत रुपमा पोल्ट्री व्यवसायमा लाग्नुपर्ने नत्र व्यवसायी टिक्ने नसक्ने विष्टले बताए । कार्यक्रममा पोल्ट्रीको वर्तमान अवस्था , चुनौती , भावी रणनिति लगायतको बिषयमा दुईवटा कार्यपत्र प्रस्तुत गरेको नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका महाुसचिव ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
भेटेरीनरी अस्पताल ,तथा पशु सेवा विज्ञ केन्द्रका डा.दयाराम चापागाई र पोल्ट्री विज्ञ तिलचन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले व्यवसायीहरुले एकजुट भए समस्या समाधान गर्न सहयोग गर्ने बताए । व्यवसायीहरुको जायज कुरामा सरकारी निकायले सहजकर्ता भूमिका खेल्ने तर कानुन विपरितका कार्य नगर्न आग्रह गरे । भेटेरीनरी अस्पताल ,तथा पशु सेवा विज्ञ केन्द्र , भरतपुर महानगरपालिका , नेपाल कुखुरा व्यवसायी मञ्च चितवनको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष ऋषिराम पौडेल ,पशु सेवा विज्ञ केन्द्रका प्रेम ढकालले लगायतले मन्तव्य राखेका थिए ।