
काठमाडौं, १७ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको सामाजिक सञ्जालमार्फत् बताएका छन्।व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो।
निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको हो। पौडेलले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु ।
साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !https://t.co/bTj1gHwknc— Ram Chandra Paudel (@NcPaudel) December 2, 2020
‘भर्खर प्रहरी परिचालन गरी मलाईसमेत हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्,’ उनले ट्वीटरमा लेखेका छन्।
तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको बताइएको छ।