आइजिपी ज्ञवालीसहित ४ प्रहरी अधिकारीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

आइजिपी ज्ञवालीसहित ४ प्रहरी अधिकारीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं,१९ फागुन ।

नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीसहित प्रहरीका चार उच्च अधिकारी विरुद्ध सर्वोच्च अदालतमा अदालत अवहेलना मुद्दा दर्ता भएको छ।

प्रहरी महानिरीक्षक भएपछि पहिलो अवहेलना मुद्दा ठाकुरमाथि दर्ता भएको हो। आइतवार अबेर उनीहरुविरुद्ध सर्वोच्चको आदेशअनुसार प्रशासनबाट टिप्पणी उठाएर अवहेलना मुद्दा दर्ता भएको हो।

सर्वोच्च अदालत रिहा गर्न आदेश दिने, तर गेटबाटै पटकपटक पक्राउ गर्ने प्रवृत्ति बढेको भन्दै गत शुक्रवार चार प्रहरी अधिकारीविरुद्ध अवहेलना मुद्दा चलाउन दुई न्यायाधीशको संयुक्त इजलाशले आदेश गरेको थियो। सोहीअुनसार आइतबार प्रहरी महानिरीक्षक ज्ञवालीसहित सर्वोच्चले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोष राठौर, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको सर्वोच्चले जनाएको छ। प्रहरी अधिकारीविरुद्ध दर्ता भएको अवहेलना मुद्दाको नम्बर २०७६–एनएस ००२९ रहेको छ।

गएको शुक्रबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई अदालतले रिहा गर्न आदेश दिएपछि पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको भन्दै भीमप्रसाद शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरी आदेश दिँदै उनीहरुलाई प्रहरीले सर्वोच्च परिसरबाटै गैरन्यायीक रुपमा अदालतको आदेशको अवहेलना गरी पक्राउ गरेको देखिएकाले सात दिनभित्र लिखित जवाफ माग गरेको थियो।

संविधानको धारा १२८(४) अनुसार अदालतबाट जारी भएको आदेश नमान्नेलाई अदालत आफैले प्रतिवेदन तयार पारेर मुद्दा चलाउन पाउने अधिकार दिएको छ।

अदालतबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिलाई अदालतको गेटबाटै पुनः पक्राउ गर्नु अदालतको अवहेलना हुने भन्दै सम्बन्धित प्रहरी अधिकारीलाई ‘संविधानको धारा १२८९४० तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारवाही र सजाय किन हुन नपर्ने होरु’ आदेशमा उल्लेख थियो।

उनीहरुलाई सर्वोच्चले जवाफसहितको लिखित रुपमा आफैं उपस्थित हुन पनि भनेको थियो। सर्वोच्चले सात दिनभित्र स्वयं नै उपस्थित हुन भने सँगै मुद्दा पनि सुरु हुने भएको छ। अवहेलना मुद्दा दर्ता भएका चारै जनालाई सोमबार (आज)म्याद जारी गर्ने र त्यसको सात दिनभित्र उनीहरुलाई अदालत उपस्थित हुन भनिने छ।