इच्छाकामनाका चेपाङलाई डिटोल सावुन

चैत २० गते । चितवनको इच्छाकामना गाउँपालिकाका स्थानीयलाई सावुन वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसीयल इम्प्याक्टले गाउँपालिकाको वडा नम्वर १ र २ का ६ सय ३३ घरधुरीलाई डिटोल सावुन वितरण गरेको हो । सोसियल इम्प्याक्टले इच्छाकामना १ मा हरेक यात्राको सुरुवात एक सपनाबाट हुन्छ भन्ने नामक परियोजना संचालन गरिरहेको छ । परियोजनाको कार्यक्षेत्र वडा नम्वर १ भएपनि दुईका ३३ घरधुरीलाई खानेपानीका लागि सहयोग गरेकाले उनीहरुलाई पनि सावुन वितरण गरिएको सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले वताए । वस्नेतका अनुसार प्रति घर ४,४ थानका दरले डिटोल सावुन प्रदान गरिएको हो ।

टोल विकास संस्थाका प्रतिनिधीको रोहवरमा सोलियल परियोजनाका सहजकर्ताहरुले सावुन वाँडेका थिए । हातधुने वानीको विकास गर्नुका साथै संभावित कोरोना भाईरसको सक्रमण हुन नदिन सावुन वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले वताए । सोसियल इम्प्याक्टले इच्छाकामना १ मा त्यहाँका स्थानीयको चेतना अभिवृद्धी गर्दै आयआर्जन वढाउन परियोजना संचालन गरिरहेको छ ।