चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

चितवन , १७ असोज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो । चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला भइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।” उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताउनुभयो । निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । उहाँले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताउनुभयो । असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताउनुभयो । उहाँले दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिनुभयो । सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उहाँले बताउनुभयो । गत वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए । यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए ।

गत वर्ष पर्यटनबाट मात्र रु १९ करोड ९२ लाख ५५ हजार ६८१ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ । निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्ने गरेको छ । विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।