अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

वासिङ्टन, १७ असोज

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उहाँका चिकित्सक डा.केभिन कोनरले सो कुराको जानकारी दिनुभएको हो । उहाँले शुक्रबार जो बाइडेन र उहाँकी श्रीमतीको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो ।

डा.केभिनले एक विज्ञप्ति प्रकाशन गरेर भन्नुभएको छ–बाइडेन र उहाँका श्रीमतीको पिसिआर परीक्षणमा उहाँहरु दुवै जनामा कोरोना भाइरसको संक्रमण देखिएन ।डा.केभिनको सो विज्ञप्तिपछि बाइडेनले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ– मेरी श्रीमती जिल र मेरो कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ, हामीलाई खुशी लागेको छ । यसअघि गत बिहीबार मात्र गरिएको परीक्षणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने कोरोना भाइरस पोजेटिभ आएको थियो । त्यसपछि उहाँलाई अस्पताल नै भर्ना गरिएको छ । उहाँलाई अरु केही दिन अस्पताल बस्नुपर्ने उहाँका निजी चिकित्सकहरुले सुझाव दिएका छन् ।