सौराहामा आयोजित हात्ती महोत्सव सकियो
चितवन ,१८ पुष ।
पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ चितवनको सौराहामा आयोजना गरिएको हात्ती महोत्सव शुक्रवार सकिएको छ । मौषम प्रतिकुलताका बीच प्रदेश ३ का प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा १६ औं संस्करणको हात्ती महोत्सवको समापन गरिएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनले प्रत्येक वर्ष हात्ती महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवको अन्तिम दिन हात्ती पोलो र हात्तीका छावाहरुको फुटवलको फाईनल भएको थियो । मौषमका कारण दुवै खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । हात्ती पोलोमा खैरहनी नगरपालिकाले रत्ननगर नगरपालिकालाई पराजीत गर्दै यस वर्षको उपाधी जितेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले वताए । खैरहनीले पेनाल्टीमा १ गोल गर्दा रत्ननगरले कुनै गोल गर्न सकेन । ३,३ जनाले पेनाल्टी प्रहार गरेकोमा खैरहनीको तर्फबाट २ वल वाहिरिन पुग्दा रत्ननगरको ३ वटै प्रहार विफल भएको संयोजक पाण्डेले वताए । त्यस्तै हात्तीका छावाहरुको फुटवलको उपाधी चितवन उद्योग संघले जितेको छ । पेनाल्टी मार्फत गरिएको फाईनल खेलमा चितवन उद्योग संघ २–० ले विजयी भयो । संघका लागि सौराहाजग र रिमझिमकलीले समान एक एक गोल गरेको प्रतियोगिता संयोजक पाण्डेले वताए ।
समापन कार्यक्रम क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा भएको थियो । पुष १० गतेदेखी सुरु भएको महोत्सवमा हात्ती पोलो र फुटवल वाहेक हात्ती श्रृंगार, हात्ती वनभोज,हात्ती सुन्दरी,गाढा श्रृंगार,महिला बीच भलिवल,डुंगा दौड,हात्ती फास्ट वाक प्रतियोगिता लगायतका गतिविधी भएका थिए ।