रापती खोलामा पुल शिलान्यास

मकवानपुर, १८ मङ्सिर ।
हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुईसय पन्ध्र मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६ करोड ४१ लाख ८७ हजार विनियोजन गरेको छ । करिब दुईवर्षभित्रमा पुल निर्माण सम्पन्न हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज पुलको शिलान्यास गर्दै प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजना र विकासको पूर्वाधारलाई समानुपातिक रुपमा वितरण गरेको जानकारी दिनुभयो । उहाँले शहरीकरणलाई नयाँ चिन्तनका साथ विकसित आधारशीला तयार पार्न गृहकार्यमा जुटेको र अनियमित गर्र्नेलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा जनताको चाहनानुसार खानेपानी, पक्की पुल, सडक र विद्युतीकरण विस्तारका लागि विभिन्न योजना कार्यान्वयनको तहमा रहेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ, चितवन, हेटौँडा, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुलीलगयात शहरमा विद्युतीय सवारी साधन सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले प्रक्रिया थालनी गरिसकेको र केही महिनाभित्रै सङ्घीय राजधानी काठमाडौँबाट हेटौँडा जोड्ने विद्युतीय सेवा सञ्चालन हुने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात निर्देशनालयका निमित निर्देशक डा सहदेव भण्डारी हेटौँडा उपमहानगरपालिका–११ र १२ का वडाध्यक्ष क्रमशः गोकर्ण पराजुली, ललित घलान र समाजसेवी ललिता गोम्बाले स्थानीय जनसहभागिताको आधारमा विकास निर्माण अगाडि बढाउँदा दीर्घकालीन लाभ प्राप्त हुने बताउनुभयो । रासस