संकटमा परेको चीनविरुद्ध केही राष्ट्रहरु, झण्डा बिगार्नेदेखि जलाउनेसम्म भेटिए

संकटमा परेको चीनविरुद्ध केही राष्ट्रहरु, झण्डा बिगार्नेदेखि जलाउनेसम्म भेटिए

एजेन्सी, माघ २० ।

कोरोना भाइरस संसारभरि फैलिने क्रम जारी छ । त्यसो त, चीनमा कोरोना मात्र होइन, बर्ड फ्लू र भूकम्पको त्रास पनि यसै साता थपिएको छ ।

चीन संकटमा परेको मौका छोपेर चीनविरोधी भावना फैलाउन चाहने एकाथरि शक्तिहरु पनि यतिबेला सक्रिय भइरहेका छन् । संकटको बेला सहयोग र समवेदनाको कुरा त कता हो कता, निर्मम बनेर ‘ओरालो लागेको मृगलाई लखेट्ने’ प्रवृत्ति बढ्नु चिन्ताजनक देखिएको छ । किनकि, भाइरससँगै विश्वभर चीन र चिनियाँ संस्कृति विरोधी भावनामा पनि वृद्धि भइरहेको देखिन्छ ।

एसिया, युरोप र अमेरिकामा नयाँ भाइरससँगै चीन विरोधी भावना फैलिएको छ । चिनियाँसहित अन्य एसियाली नागरिकमाथि यात्रा प्रतिबन्ध लगाइएको छ ।

दक्षिण कोरिया, जापान, हङकङ र भियतनामका पोष्टरै टाँसेर चिनियाँ नागरिकका लागि सेवा उपलब्ध नभएको जानकारी दिइएको छ । इन्डोनेसियामा एउटा होटेलमा बसिरहेका चिनियाँ पर्यटकलाई एक भीडले तत्काल उक्त होटेल छोड्न भनेको समाचार बाहिर आएको छ ।

हालै इन्डोनेसियाको बुकिटिङ्गीस्थित १७० जना चिनियाँ पर्यटक बसिरहेको नोभोटेल होटलमा सैयौं मानिस भेला भएका थिए । मलेसियामा ४ लाखभन्दा बढी मानिसले आफ्नो परिवार र बालबालिका बचाउन भन्दै चिनियाँ यात्रीमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेर एउटा अपिल पत्रमा हस्ताक्षर गरेका छन् ।

दक्षिण कोरियामा झण्डै ६ लाख मानिसले चिनियाँ पर्यटकमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग अनलाइनमार्फत् राखेका छन् । जुङएनी इल्बु समाचार पत्रिकाले दक्षिण कोरियामा चिनियाँप्रति नकरात्मक भावना अभूतपूर्वरुपमा वृद्धि भएको जनाएको छ ।

यता फ्रान्स र अष्ट्रेलियाका समाचार माध्यममाथि रंगभेदी हेडलाइन छापेको आरोप लागिरहेको छ ।

अमेरिकामा पनि चीन र एसियालीविरुद्धको भावना फैलिरहेको छ । क्यालिफोर्निया विश्वविद्यालयले ‘एसियाबाट आउनेसँग अन्तर्क्रिया गर्न डराउनुपर्ने’ भनेर इन्स्टाग्राममा लेखिएको पोष्ट हटाएको छ ।

‘यो मुलुकमा जति समय बसेपछि बेलाबेला विदेशी भनेर हेर्ने गरिन्छ’, नेशनल काउन्सिल अफ एसियन प्यासिफिक अमेरिकन्सका राष्ट्रिय निर्देशक ग्रेग ओर्टनले भने, ‘हामीमध्ये धेरैका लागि यो निराशाजनक कुरा हो ।’

पछिल्लो समय हङकङमा चीनविरोधी भावना सडकमा नै छताछुल्ल भएको छ । चीनतर्फ जाने रेल सेवा बन्द गरिएको छ भने हङकङ र चिनियाँ शहरबीचको हवाइ उडानमा कटौती गरिएको छ ।

कोरोना भाइरस विश्वभर फैलिँदै गएपछि हङकङमा पनि सतर्कता अपनाइएको छ । हङकङको तेन्नो रामेन रेष्टुरेन्टले चीनबाट आउने ग्राहकलाई सेवा उपलब्ध नगराउने भनेर फेसबुकबाट जानकारी गराएको छ । ‘हामी लामो समय बाँच्न चाहन्छौं । हामी स्थानीय ग्राहकलाई सुरक्षित राख्न चाहन्छौं । कृपया माफ गर्नुहोला’, उक्त रेन्टुरेन्टले आफ्नो आफ्नो फेसबुक पेजमा लेखेको छ ।

युरोपमा पनि चिनियाँविरोधी भावना देखिएको छ । उदाहरणका लागि फ्रान्सलाई लिन सकिन्छ । फ्रान्समा एसियाली समुदायको उपस्थिति ठूलै छ र हाल उक्त संख्या बढिरहेको छ । फ्रान्स भ्रमण गर्न जाने पर्यटकमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य छ ।

तर उत्तरी फ्रान्सबाट प्रकाशित हुने केही पत्रपत्रिकाको हेडलाइन यति बेला विवादमा तानिएको छ । कोरोना भाइरसलाई ‘एलो पेरिल९पहेँलो आतंक०’ भनेर लेखेपछि देशभर विरोध भएको थियो । लगत्तै सम्बन्धित पत्रपत्रिकाले क्षमायाचना मागेका थिए ।

फ्रान्सका पत्रपत्रिकामा मात्रै होइन, होटल तथा रेस्टुरेन्टमा पनि चिनियाँ विरोधी भावना व्यक्त हुन थालेको छ । रेस्टुरेन्ट र होटेलमा आउने ग्राहकले स्वागत गर्न बसेका कर्मचारीलाई ‘चिनियाँ हौ किरु’ भनेर सोध्ने गरेको एक भियतनामी रेस्टुरेन्टका सञ्चालक कोर्लियरले भने ।

‘एसियाबाट आएका मानिस र एसियाली खानाका कारण बिना कारण मानिसहरू तर्सिन थालेका छन्’, कोर्लियरले भने । यही कारणले आफ्नो रेस्टुरेन्टको कारोबार यस वर्षको तुलनामा ४० प्रतिशतले घटेको उनले बताए । भाइरसका कारण आफ्ना छोराछोरी समेत विभेदमा पर्न थालेको उनको गुनासो थियो ।

फ्रान्समा बस्ने एसियालीले भाइरसलाई देखाएर मानिसले विभेद गर्न थालेपछि यसै हप्ता ट्विटरमा ‘क्ष् बm लयत ब खष्चगक’ भन्ने ह्याशट्याट नै चलाएका छन् ।

विद्यालय र सुपरमार्केटमा समेत रंगभेदी घटना, गाली र आलोचना सुनिन थालेको चिनियाँ मूलका नागरिकका लागि खोलिएको एक संघका प्रमुख लायटिटिया छिभले बताए ।

‘चिनियाँ मूलका एक विद्यार्थीलाई एक महिलाले आफूले किन्न लागेको एभोकाडो नछुन भन्दै गाली गरिन्’, छिभले सुनाए, ‘ती व्यक्ति कहाँबाट आएको र भाइरस भएको वा नभएको भनेर सोधेपछि ती महिलाले त्यसरी गाली गरेकी हुन् ।’

राजधानी पेरिसमा नयाँ भाइरसप्रतिको चिन्ता अन्य तरिकाले पनि व्यक्त हुन थालेको छ । केही पसलमा एसियालीसँग सम्पर्कमा आउने डरले फ्रेन्च ग्राहक टाढै बस्ने गरेको एक जनाले सुनाए ।

‘एसियालीविरुद्धको रंगभेदरजातीय विभेद भाइरसभन्दा पनि चाँडो फैलिरहेको छ’, कलाकारिताको क्षेत्रमा काम गर्ने चिनियाँ मूलका सुन ले ताङले भने, ‘मेट्रो चढेर काममा जाँदै थिए तर नजिकै रहेका उक व्यक्ति केही पर सरे र आफूसँग भएको रुमालले मुख छोपे जुन घटनाले मलाई निकै दुःखित बनायो ।’

‘नयाँ भाइरस चीनको एक क्षेत्रबाट सुरु भएको हो । यो भाइरस उत्तरी अफ्रिका, युरोप वा अन्य कुनै पनि क्षेत्रमा देखिन सक्थ्यो’, पेरिसमा रहेका चिनियाँहरूलाई कानुनी परामर्श दिँदै आएका सोक लामले भने, ‘एसियाली भएका कारणले भाइरस फैलिने संभावना हामीबाट मात्रै हुन्छ भन्ने कुरा मानिसहरूले सोच्नु हुँदैन ।’

डेनमार्कको दैनिक पत्रिका जाइल्यान्स पोस्टेनमा छापिएको उक्त चिनियाँ झण्डामा पाँचवटा ताराको स्थानमा कोरोना भाइरस देखाइएको छ । कोरोना भाइरसले संकट निम्त्याएको बेला आफ्नो झण्डालाई तोडमोड गर्ने कार्यलाई ‘असंवेदनशील र रुखो’ भन्दै चीनले आपत्ति जनाइसकेको छ ।

डेनमार्कस्थित चिनियाँ दूताबासले तोडमोड गरेर झण्डा छापेकोमा समाचार पत्रिका जाइल्यान्स पोस्टेन र कार्टुन बनाउने डेनिस आर्टिस्ट निल्स बो बोगेसेनले क्षमायाचना माग्नुपर्ने बताएको छ । दूताबासले एक विज्ञप्ति जारी गर्दै चिनियाँ नागरिकसँग पत्रिकाले क्षमायाचना माग्नुपर्ने बताएको हो ।

‘कुनै सहानुभूति र समानुभूतिबिना नै पत्रिकाले सभ्य समाजको आधारभूत सीमा तथा वाक स्वतन्त्रताको नैतिक सीमा दुवै नाघेको छ र मानवीय विवेकको खिल्ली उडाएको छ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यता जर्मनीको पत्रिका डेर स्पेइगेलले प्रोटेक्टिभ गिअर लगाएका एक व्यक्तिको तस्बिरसहित ‘मेड इन चाइना’ नामक हेडलाइन छापेको थियो ।

चीनपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेमा फिलिपिन्स रहेको छ । तर त्यहाँ पनि चिनियाँ विरोधी भावना विकास हुँदै गएको छ । पूर्व प्रहरी अधिकृत तथा मेयर अबनेर आफूआङले शुक्रबार आफूले राजधानी मनिलास्थित नेशनल प्रेस क्लब अगाडि चिनियाँ झण्डा जलाए । चीनका कराण आफ्नो देशमा उत्पन्न भएको समस्याको विरोधमा उक्त काम गरेको उनको भनाइ थियो ।

दक्षिण चिनियाँ सागरमाथि चीनसँग विवाद रहेपनि फिलिपिन्सको राष्ट्रपति कार्यालयले भने भाइरसकै कारण कसैप्रति विभेद गर्न नहुने प्रस्ट पारेको छ । ‘कुनै पनि विभेदपूर्ण व्यवहारमा संलग्न नहोऔं, कसैप्रति पनि पूर्वाग्रह नराखौं किनभने हरेक व्यक्ति भाइरसबाट संक्रमण हुन सक्छन्’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।