भण्डारा दुग्ध सहकारीको निर्वाचन हुदै, अध्यक्षमा थपलियाको संभावना वलियो

भण्डारा दुग्ध सहकारीको निर्वाचन हुदै, अध्यक्षमा थपलियाको संभावना वलियो

माघ २० गते । चितवन जिल्लामै सर्वाधिक दुध संकलन गर्दै आएको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको निर्वाचनले राप्ती नगरपालिकामा माहोल तातेको छ । सो सहकारीको आगामी कार्यकालका लागि यही माघ २५ गते निर्वाचन अन्र्तगत मतदान हुदैछ । मतदानको मिति नजिकिदै जाँदा अहिले यहाँको माहोल तात्दै गएको छ भने उम्मेदवारहरु भोट माग्न व्यस्त छन् ।
निर्वाचनले आगामी ४ वर्षे कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गर्नेछ । कार्यसमितिको अध्यक्षका लागि वर्तमान अध्यक्ष डिल्लीप्रसाद थपलियासहित ४ जना चुनावी मैदानमा छन् । अध्यक्षमा थपलियासहित तीर्थराज पाण्डे,विश्वकान्त रुवाली र थलराज पाठक चुनावी मैदानमा रहेका हुन् । निर्वाचनमा थपलिया र रुवालीले प्यानलै वनाएका छन् । थपलिया नेकपा निकट र रुवाली काग्रेश निकटका शेयर सदस्य हुन् । पाण्डे र पाठक स्वतन्त्र उम्मेदवार हुन् । अध्यक्षका उम्मेदवार मध्ये थपलियाको संभावना वलियो रहेको सोही संस्थाका शेयर सदस्यहरु वताउँछन् । थपलियाले आफ्नो कार्यकालमा किसान र उपभोक्ताको हितमा काम गरेको र राप्तीमा पशु आहार उद्योग स्थापनामा महत्वपूर्ण भुमिका खेलेकै कारण पनि उनको संभावना वलियो रहेको छ । थपलिया पनि निर्वाचन सहज रुपमा आफ्नो पक्षमा आउने दावी गर्छन् । थपलिया राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक समेत हुन् ।

उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष समेत रहेका डालवहादुर श्रेष्ठ र राजेन्द्र प्रसाद तिमल्सीनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शैलेन्द्र भण्डारीले वताए । सचिवमा वर्तमान सचिव रामचन्द्र हुमागांई र हरिकुमार दनै चुनावी मैदानमा छन् । सहसचिवमा सर्वेश्वर थपलिया र प्रकाशकुमार सेढाई,कोषाध्यक्षमा हरिमाया उप्रेती र सुवास सिलवालले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत भण्डारीले वताए । निर्वाचनले ५ पदाधिकारी र ६ सदस्यसहित ११ सदस्यीय कार्यसमिति चयन गर्नेछ । भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ९ हजार लिटर भन्दा वढि दुध संकलन गर्दै आएको छ ।