बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण

बहराइनमा १२ नेपालीलाई कोरोना संक्रमण

बहराइन,२१ चैत्र ।

वैदेशिक रोजगारीका लागि बहराइन पुगेका १२ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी यसको पुष्टि गरेको हो।

२ अप्रिल २०२० साँझ ८ बजेसम्म चेकजाँच गरिएका ३६ हजार ५ सय ६ जनामध्ये २ सय ५८ जनामा संक्रमण देखिएको र त्यसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ। ३ सय ८१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

केही समयअघि सल्मावादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो। तीमध्ये बिहीबार ९ नेपालीमा संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ। यसअघि संक्रमण देखिएका ३ सहित बहराइनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।