बाबुको उपचार हुँदै गर्दा हेर्ने मान्छे नहुँदा एक असक्त किशोरको गयो ज्यान

बाबुको उपचार हुँदै गर्दा हेर्ने मान्छे नहुँदा एक असक्त किशोरको गयो ज्यान

चीन, माघ २१ ।

कोरोना भाइरस संक्रमणको आशंकामा बाबुलाई उपचारमा राखिएपछि उनको एकल रेखदेखमा रहेका मस्तिष्क पक्षघात (सेरिबल पल्सी)बाट पीडित किशोरको मृत्यु भएको छ ।

घटना सार्वजनिक भएपछि चीनले आफ्ना दुई अधिकारीलाई पदबाट बर्खास्त गरेको छ । १६ वर्षीय यन चेङ मंगलबार मृत भेटिएका थिए । उनका बाबु र भाइलाई एक सातादेखि कोरोना संक्रमणको आशंकामा चिकित्सकिय निगरानीमा राखिएको थियो ।

यो बीचमा ती किशोरलाई दुई पटक मात्र खाना खुवाइएको तथ्य फेला परेको छ । घटनापछि कम्युनिष्ट पार्टीका स्थानिय सचिव र मेयरलाई पदबाट हटाइएको हो । हाल ती किशोरको कथा सामाजिक संजालमा ट्रेन्डिङ भइरहेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक किशोरका बाबुले चिनियाँ सामाजिक सञ्जाल उइबोमा आफ्ना छोरा खाना र पानीबिना एक्लै रहेको भन्दै सहयोगको अपिल गरेका थिए । यो किसिमको मस्तिष्कको पक्षघातबाट पीडित व्यक्ति पूर्णतया अरुकै भरमा रहनुपर्ने हुन्छ ।

घटनापछि चिनियाँ अधिकारीहरूले किशोरको निधनमाथि छानविन गरिने बताएका थिए । पछिल्लो समय चीन कोरोना भाइरसको संक्रमणबाट आक्रन्त बनेको छ । यस भाइरसका कारण हालसम्म ४२५ जनाले ज्यान गुमाइसकेका छन् भने २० हजार बढी यसबाट संक्रमित भएको पुष्टी भइसकेको छ । एजेन्सी