विप्लवको मुख्य आर्थिक संकलक कलङ्कीस्थित कार्यालयबाटै पक्राउ

काठमाडौं, २१ माघ ।

नेत्रविक्रम चन्द समूहका नेता तथा सो पार्टीमा आर्थिक संकलन गर्ने मुख्य व्यक्ति मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको निजी ‘प्राइभेट अफिस’ बाट पक्राउ गरेको हो । कटवाल चन्द समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष हुन् । चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु ९चुनदेवी० मा पनि घर छ । उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु ९चुनदेवी० स्थित घरमा अहिले खानतलासी गरिरहेको छ । उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी र व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ ।

चन्द समूहलाई प्रतिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ । उनी कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिबिधिमा प्रतिबन्ध लगाएको थियो । त्यसयता एक हजार ३४३ जना नेताकार्यकर्ता पक्राउ परेकोमा एक हजार १३४ जना धरौटी र साधारण तारेखमा छुटेका छन् ।