अभ्यास खेलमा ‘नेपाल ए’ सँग अमेरिका पराजित

अभ्यास खेलमा ‘नेपाल ए’ सँग अमेरिका पराजित

काठमान्डौ २१ माघ ।

विश्वकप क्रिकेट लिग–२ खेल्न आएको अमेरिका मूलपानीमा मंगलबार भएको अभ्यास खेलमा ‘नेपाल ए’ टिमसँग ३७ रनले हारेको छ । नेपालबाट विश्वकप क्रिकेट लिग–२ खेल्ने शरद भेषवाकरले मात्र खेलेका थिए ।

११२ रनको सामान्य लक्ष्य पच्छ्याएको अमेरिका ३३।२ ओभरमा ७४ रनमा समेटियो । नेपालका लागि स्पिनर सागर ढकालले चार र शेर मल्लले तीन विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए । उनले ८९ बल खेलेका थिए ।

खकुरेललाई अन्य कुनै पनि ब्याट्स्म्यानले साथ दिएनन् । अर्का ओपनर सुनिल धमला ७ रनमा बाहिरिए भने भेषवाकरले ५ रन मात्र बनाए । त्यसपछि आएका पवन सर्राफले १२ रन बनाएका थिए ।

नेपाली टिममा सन्दीप जोरा, भुवन कार्की, किशोर महतो, लोकेश बम र आकाश चन्द पनि समावेश थिए । नेपाली टोलीको कप्तान खकुरेलले गरेका थिए ।

नेपाल र अमेरिकाबीचको पहिलो खेल शनिबार हुनेछ । बुधबार नेपालले ओमानविरुद्ध खेल्दै विश्वकप क्रिकेट लिग–२ को सुरुवात गर्नेछ ।