अर्काको गीत चोरी गर्ने ‘म्युजिक कम्पनी’ विरुद्ध छानबिन समिति गठन गर्ने सञ्चारमन्त्रीको आश्वासन

अर्काको गीत चोरी गर्ने ‘म्युजिक कम्पनी’ विरुद्ध छानबिन समिति गठन गर्ने सञ्चारमन्त्रीको आश्वासन

काठमाडौं,२१ माघ ।

अर्काको गीत चोरी गरी प्रयोग गर्ने ‘म्युजिक कम्पनी’ विरुद्ध छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । संगीतकार अष्ट लामाको नेतृत्वमा आज (मंगलबार) दिउँसो मन्त्रालय पुगेका श्रष्टाहरूसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले छानबिन समिति गठन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

केही दिनमै समिति गठन गरी काम सुरु गर्ने सञ्चारमन्त्रीले आश्वासन दिएका छन् । संगीतकार लक्ष्मण शेषले सञ्चारमन्त्रीले छानबिन समितिमा पीडितहरूका तर्फबाट आफैं बस्ने बताएको जानकारी दिए ।
“मन्त्रीज्यूले हामीले चोरीको तथ्य–प्रमाणसहित दिएको निवेनमा तोक आदेश लगाउनुभएको छ,” उनले भने, “यो श्रष्टाहरूका लागि ठूलो उपलब्धि र भरोसा हो ।”

गायक सत्यराज आचार्यले मन्त्रीको आश्वासन सँगै न्यायको आशा पलाएको बताए । “मैले धेरै पहिलादेखि नै सुनेको कुरा हो यो, पहिला नै आउनुपर्ने थियो तर ढिलै भए पनि आएर ठीक गर्नुभयो,” मन्त्री बास्कोटालाई उद्धृत गर्दै सत्यराजले भने । विभागीय मन्त्रालयका मन्त्रीले नै छानबिन समिति बनाउन निर्देशन दिँदै तोक लगाइदिएको भन्दै उनले अब छानबिन समिति गठनका लागि कानुनी प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

कलाकारहरूले छानबिन समितिमा आफूहरूको पनि प्रतिनिधित्व हुनुपर्ने कलाकारहरूको मागमा मन्त्री बास्कोटा सकारात्मक रहेको गायक सत्यराजले बताए । संगीतकार शेषले गठन हुने छानबिन समितिले श्रष्टा तथा रेडियो नेपालको बौद्धिक सम्पत्ति कसरी दोहन भइरहेको छ त्यसको प्रमाणसहितको प्रतिवेदन बुझाउने बताए ।

“मन्त्रालयले चाँडै छानबिन समिति गठन गर्नेछ र त्यसले श्रष्टा तथा रेडियो नेपालको सम्पत्ति विभिन्न म्युजिक पोर्टल र सीआरबीटी, पीरआरबीटीमा बेचिएको छ । त्यसको क्षतिपूर्ति भराउनेसहितको प्रतिवेदन आउला भन्ने अपेक्षा छ,” संगीतकार शेषले भने । “छानबिन समिति गठन भएर निष्पक्ष छानबिन भयो भने आगामी दिनमा श्रष्टा र रेडियो नेपालको सम्पत्ति दोहन रोकिएला,” गायक सत्यराज विश्वस्त सुनिए ।
सरकारले निष्पक्ष छानबिन गरी पारदर्शी र सबैलाई मान्य हुने प्रावधान बनाउने उनको अपेक्षा छ । प्रधानमन्त्री स्वयंले चासो देखाएर अन्यायमा परेकाको माग सम्बोधन गर्छु भनेकाले ठगिएका श्रष्टाहरू विस्तारै बोल्न थाल्ने उनको बुझाइ छ ।

मन्त्री बास्कोटालाई भेट्न अष्ट लामा र सत्यराजसँगै वसन्त बी। थापा, राजन इसान, स्वरूपराज आचार्य, चूडामणि देवकोटा, पारश मुकारुङ, श्याम सापकोटा पुगेका थिए । अर्काको गीत–संगीत चोरेर प्रयोग गरेको भन्दै साताअघि श्रष्टाहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले विनाअनुमति अरूका गीत स्वदेश तथा विदेशमा प्रयोग गर्नेलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका थिए । भेटमा प्रधानमन्त्रीले एक साताको समय तोकेर कुनै न कुनै रूपमा कारबाहीका लागि ‘एक्सन’ लिने बताएका थिए । प्रधानमन्त्रीले दिएको समयसीमा हिजो सकिएपछि श्रष्टाहरूले आज सञ्चारमन्त्रीलाई भेटेका हुन् ।

गीत–संगीत चोेरी गर्ने कम्पनीलाई कारबाहीको माग गर्दै गीतकार, गायक तथा संगीतकाहरूले फौजदारी अभियोगअन्तर्गत भोलि मुद्दा दर्ता गर्ने संगीतकार शेषले बताए । करिब १० जनाले एकैपटक मुद्दा दर्ता गर्ने उनको भनाइ छ । “मुद्दा दर्ता गर्नुअगाडि चोरी गर्ने म्युजिक कम्पनीहरूविरुद्ध बलियो प्रमाण संकलन गरिसकेका छौं,” उनले भने, “सरकारलाई विश्वास गर्दै हामी हाम्रा कानुनी अधिकार पनि एकसाथ खोज्दै जान्छौं ।”

एक साताअगाडि गीतकार यादव खरेल, संगीतकार लक्ष्मण शेष, गायक प्रेमध्वज प्रधान, सत्यराज आचार्य र स्वरूपराज आचार्यलगायतले प्रधानमन्त्रीलाई भेटेर श्रष्टाको बौद्धिक सम्पत्तिको चोरी भइरहेको भन्दै त्यसको रक्षाका लागि सरकारी तवरबाट कदम चालिदिन आग्रह गरेका थिए ।