प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण

काठमाडौं,फागुन २१ ।

सोमबार साँझ शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको अस्पताल स्रोतले जनाएको छ ।

प्राप्त जानकारी अनुसार चिकित्सकलाई शल्यक्रिया सम्पन्‍न गर्न करिब ५ घण्टासम्म लागेको थियो ।अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो । मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।