बितेको २४ घण्टामा थप २४४० जनामा कोरोना पुष्टि, ३ वर्षीय बालकसहित १९ जनाको मृत्यु

काठमाडौं ।

सोमबार देशभर २ हजार ४४० जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ।

मृत्यु हुनेमा काठमाडौंका ७६, ८१ र ८३ वर्षीया महिला रहेका छन् भने काठमाडौंकै २६ वर्षीय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय र ९१ वर्षीय पुरुष छन् । ललितपुरका ३ वर्षीय बालक तथा ५५ र ७१ वर्षीय पुरुषले पनि ज्यान गुमाएका छन् ।

त्यसैगरी पर्साकी ६५ वर्षीया महिला, गोरखाकी ४५ वर्षीया महिला, सर्लाहीका ४२ र ६९ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।

हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ। गत २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन्।